नगरले सरुवा गरेका शिक्षकलाई विद्यालयले गराएन हाजिर

नगरले गरेको निर्णय कार्यान्वयन हुन नसक्दा आफू थप पीडित भएको शिक्षकको गुनासो ।

फाल्गुन ११, २०८२

काशीराम डाँगी

School refuses to make teachers transferred by city attend

What you should know

रोल्पा — रोल्पा नगरपालिकाको कार्यपालिका बैठकको निर्णयबाट सरुवा गरिएका रोल्पाका एक शिक्षकलाई सरुवा भई गएको अर्को विद्यालयले दुई महिनासम्म पनि हाजिर गराएको छैन।

रोल्पा नगरपालिका -८ जंकोटस्थित वगेश्वरी प्राथमिक विद्यालयमा कार्यरत प्राथमिक तहका स्थायी शिक्षक गजबहादुर पुनलाई नगरपालिकाको गत पुस २ गते बसेको बैठकले नगरपालिकाकै वडा नम्बर २ मा रहेको बाल कल्याण माध्यमिक विद्यालयमा 'कामकाज' सरुवा गरेको थियो।

नगरको कार्यपालिका बैठकले पुन कार्यरत विद्यालयबाट अर्को विद्यालयमा कामकाजमा पठाउने निर्णयसहितको निर्देशन पत्र दिएको थियो। तर उनलाई सदरमुकामस्थित बाल कल्याण माविले हाजिर नगराएपछि शिक्षक पुन अलपत्र अवस्थामा छन्। 'म कार्यरत विद्यालयबाट बाल कल्याण माविमा कामकाज गर्न जानू भन्ने ब्यहोराको पत्र लिएर म जाँदा पनि बाल कल्याणले हाजिरी गराएको छैन। दुई महिना बढी भयो । म अलपत्र छु,' पीडित शिक्षक पुनले गुनासो सुनाए।

शिक्षक पुनका अनुसार आफू कार्यरत विद्यालयबाट अन्यत्र पठाउनुको कारण भने थाहा छैन। 'मलाई त्यस विद्यालयबाट किन हटाउन खोजिएको हो? पठाइएको विद्यालयले किन हाजिर गराएन। मैले बुझ्न सकेको छैन,' विद्यालयका पूर्वप्रधानाध्यापक समेत रहेका शिक्षक पुनले भने। उनले बाल कल्याणमा दैनिक हाजिर हुन जाने गरेको र व्यवस्थापन समिति र प्रधानाध्यापकले हाजिर गराउन आनकानी गरेको दुखेसो पनि पोखे।

नगरले गरेको निर्णय कार्यान्वयन हुन नसक्दा आफू थप पीडित भएको उनले सुनाए । आफू प्रधानाध्यापक भइसकेको विद्यालयबाट पर्याप्त कारणबिना सरुवा गरिएको र सम्बन्धित विद्यालयले हाजिर नगराई अपमान गरेको उनको गुनासो छ। पुन कार्यरत विद्यालयले भने शिक्षक पुनलाई नगरको निर्देशनअनुसार रमाना पत्र दिइएको जनाएको छ। नगरका शिक्षा प्रमुख कर्ण पुनले नगरको निर्णयविरुद्ध शिक्षक लाग्न नहुने प्रतिक्रिया दिए।

नगरले दबाबमूलक कामकाजमा सरुवा गरेपछि अलमलमा परेका शिक्षक पुनलाई नगरको निर्णयको आधारमा हाजिरी गराउन मुस्किल भएको बाल कल्याण माविको व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डाँगीले बताए । रोल्पा नगर प्रमुख सुरेन्द्र घर्ती मगरले नगरको निर्णयको कार्यान्वयन नभएकामा दु:ख व्यक्त गरे । सम्बन्धित विद्यालयप्रति इंगित गर्दै उनले भने, 'नगर शिक्षाले गरेको निर्णयको कार्यान्वयन कुनै पनि विद्यालयले गर्नुपर्ने हुन्छ। नत्र अर्को निर्णय गर्नुपर्छ। विद्यालयले हाजिरी नगराई हामीलाई किन नटेरेको हो?' उनले प्रश्न गरे।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully