‘भिजन सेभेन’ सार्वजनिक गर्दै विगतमा आफूले गरेको सामाजिक परिचालनका कामको अनुभवकै आधारमा गर्न सक्ने कुरामात्र सङ्कल्प पत्रमा राखेको अतहर कमालले बताए ।
What you should know
कपिलवस्तु — जिल्लाको निर्वाचन क्षेत्र नं १ का कांग्रेस उम्मेदवार अतहर कमालले आफ्नो सङ्कल्प पत्र ‘भिजन सेभेन’ सार्वजनिक गरेका छन् ।
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै कपिलवस्तु १ का कांग्रेस उम्मेदवार कमालले वाणगंगामा बन्न लागेर रोकिएको जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युटको कार्य अघि बढाउने, क्षेत्रको मध्यभागमा वन विज्ञान अध्ययन संस्थान स्थापना र दक्षिणी क्षेत्रमा अम्बेडकर समतामूलक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
समग्र पर्यटनको विकास गर्न कपिलवस्तु विकास कोष गठनका लागि काम गर्ने, खरको छानामुक्त क्षेत्र बनाउने, सडक पूर्वाधारको निर्माण, तीन पालिकामा व्यवस्थित बसपार्क निर्माण र आदिवासी जनजाति संग्रहालय स्थापना गर्ने प्रतिबद्धता गरेका छन् । त्यसै खेलकुद र युवातर्फ रंगशाला र खेल मैदान निर्माण, युवा स्टार्टअप कोष निर्माण गर्न नीतिगत पहल, युवा स्वरोजगारका लागि सीप प्रवर्द्धनको कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाएका छन् ।
कृषितर्फ सिँचाइ पूर्वाधार निर्माण, छाडा र जंगली जनावरको व्यवस्थापन र क्षतिपूर्तिको सुनिश्चितता, भूमिहीन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानको पहल, दुध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय र पशु पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम सञ्चालन गर्न पहल गर्ने पनि प्रतिबद्धता छ ।
वाणगंगा नगरपालिका–११ देउवापारमा संकल्प पत्र ‘भिजन सेभेन’ सार्वजनिक गर्दै उम्मेदवार कमालले आफूले विगतमा गरेको सामाजिक परिचालनका कामको अनुभवकै आधारमा गर्न सक्ने कुरामात्र सङ्कल्प पत्रमा राखेको बताए । संकल्प पत्रका प्रत्येक विषयलाई गहन अध्ययन गरेर कार्यान्वयनमा ल्याउन सक्ने कुरामात्र राखिएको कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्तिसिंह ठकुरीले बताए ।
