बुटवलको बस्तीमाथिको विद्युत् हाइटेन्सन लाइन हटाउने पौडेलको प्रतिबद्धता

कर प्रणालीमा नीतिगत सुधारदेखि ५ हजारलाई रोजगारी सिर्जना गर्नेसम्मका वाचा ।

फाल्गुन ९, २०८२

घनश्याम गौतम

Poudel's commitment to remove high-tension electricity lines above Butwal's settlements

What you should know

बुटवल — रूपन्देही क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले बुटवलमा अन्तर्राष्ट्रिय बसपार्क, पुरानो बटौलीलाई हेरिटेज जोन घोषणा गर्नेदेखि बुटवलमा कक्षा १ देखि १२ सम्मको शिक्षा निःशुल्क गर्नेसम्मका प्रतिबद्धता सार्वजनिक गरेका छन् । कम्तीमा ५ हजारलाई रोजगारी सिर्जना गर्नेदेखि पारदर्शी कर प्रणालीमा नीतिगत सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

उद्योगी र व्यवसायीसमेत रहेका पौडेलले विभिन्न क्षेत्रका ३७ बुँदा समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । बुटवल आद्योगिक क्षेत्रको विस्तार र मोतीपुर औद्योगिक क्षेत्रको शीघ्र संचालन, बीटीआईलाई इन्जिनियरिङ कलेजका रूपमा रूपान्तरण गर्दै बुटवल अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज संचालन गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने र त्यो जनशक्ति बुटवलकै उद्योगहरूमा परिचालन गर्नेसम्मका प्रतिबद्धता उनका छन् । 

औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरलाई न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोषमा आबद्धता, युवाहरूलाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त बनाउने, सुरक्षित क्षेत्र अभियानअन्तर्गत प्रत्येक चोकचोकमा डिजिटल फ्रि वाइफाइ र सीसी क्यामेरा जडान, राष्ट्रको आर्थिक उन्नति र प्रगतिका लागि उद्योग, व्यापार र व्यावसायिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्दै लगानी बढाउन विश्वासिलो कानुनी प्रबन्ध र पारदर्शी कर प्रणालीको नीतिगत सुधारमार्फत उचित व्यावसायिक वातावरण निर्माण गर्ने  बुटवलको बस्तीलाई जोखिममा पारेका हाइटेन्सन लाइन हटाउनेसम्म प्रतिबद्धतामा उल्लेख छ ।

लुम्बनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिद्धार्थ बाल तथा महिला अस्पताललाई मेडिकल कलेजका रूपमा स्थापित गर्ने, अव्यवस्थित तथा भूमिहीन नागरिकको भूमिसम्बन्धी समस्या समाधानका लागि नीतिगत व्यवस्थापन गरी जग्गाको स्वामित्व प्रदान गर्ने, बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्सा खानेपानी, हिलपार्क खानेपानी आयोजना र तिलोत्तमा तथा सैनामैना खानेपानी तथा सरसफाइ संस्थाहरूको थप सशक्तीकरण गरी शुद्ध पिउने पानीको व्यवस्थापन लगायतका विषय प्रतिबद्धतामा उल्लेख छन् । 

पौडेको चुनावी परिचालन समितिका संयोजक प्रजापाल गिरीले आश्वासन मात्र बाँड्ने भन्दा पूरा गर्न सक्ने योजना र कार्यक्रम प्रतिबद्धता–पत्रमा समावेश गरिएको बताए । ‘हामीले सार्वजनिक गरेका प्रतिबद्धता सानो प्रयासले सहजै पूरा हुन सक्ने खालका छन्,’ उनले भने, ‘जुन बुटवल र यस क्षेत्रका बासिन्दाका लागि बहुप्रतीक्षित पनि हुन् ।’

कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कृषि तथा पशुपंक्षी व्यवसायी केन्द्र स्थापना, कृषि बाली पकेट क्षेत्र निर्धारण, कृषि अनुदान, सरल कृषि ऋण, कृषि उत्पादन बिक्री केन्द्र, उपकरण, बीउ, मल र औषधि, कृषि र पशुजन्य बिमाको उचित प्रबन्ध मिलाइने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । तिनाउ र दानव नदी किनारको व्यवस्थापन, सडकका छाडा चौपाया नियन्त्रणदेखि फोहोरमैला व्यवस्थापनसम्मका विषयवस्तु पनि प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका छन् ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully