जेन-जीले पत्याउने दल कांग्रेस मात्र : विनोद चौधरी

युवाका सपना समेटेर र विकासका सबै सम्भावना उल्लेख गरेर पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको उनले बताए ।

फाल्गुन ८, २०८२

नवीन पौडेल

Congress is the only party Gen-G trusts: Binod Chaudhary

परासी — पश्चिम नवलपरासी–२ बाट नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरीले वर्तमान समयमा जेन–जीले पत्याउने दल नेपाली कांग्रेस मात्र भएको बताएका छन् । नेता, नीति र एजेण्डाका आधारमा मुलुकको सबैभन्दा नयाँ दल कांग्रेस भएको बताए । 

बर्दघाट–११ मा शुक्रबार कोणसभामा बोल्दैं युवाका सपना समेटेर र विकासका सबैं सम्भावना उल्लेख गरेर पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको उनले बताए । ‘सभापति गगन थापाका कारण नेपाल र नेपाल बाहिर रहेका युवाको मनमा आशा पलाएको छ,’उनले भने, ‘डेढ महिना अघिसम्म पार्टीको नाम लिनसक्ने अवस्था थिएन, दुई जना पूर्व महामन्त्रीको नेतृत्वमा कांग्रेस पूर्ण रुपमा रुपान्तरित भएको छ ।’ 

भदौंमा भएको जेन–जी आन्दोलनपछि मात्र कांग्रेस रुपान्तरणको बहस सुरु भएको जनाउँदैं सबैभन्दा पहिले युवाका माग आत्मसात् गर्ने र बिगतका कमजोरीप्रति क्षमा माग्ने दल कांग्रेस भएको बताए । ‘पार्टीले इतिहासमा गरेका परिवर्तनको पृष्ठभूमिमा पहिले आफू बदलिएर मात्र अरुलाई बदल्न सकिन्छ भन्ने कांग्रेसले बुझ्यो,’उनले भने, ‘कांग्रेसको विशेष महाधिवेशनमा नवलपरासी जिल्लाको ठूलो योगदान रह्यो ।’

२०७९ को निर्वाचनका बेला चिरा–चिरा परेको कांग्रेस हुँदा आफूलाई चुनावी अभियानमा अप्ठ्यारो परेको उनले जनाए । यसपटक जिल्ला पार्टी नेतृत्व एकसाथ भएकाले चुनावी सभादेखि प्रचारमा सहयोग मिलिरहेको उनको भनाई थियो । ‘कुनै बेला जिल्लामा कांग्रेस कार्यकर्तासित बैठक गर्ने अवस्था थिएन,’उनले भने, ‘आज सबैं नेता एकजुट भएर चुनावी अभियानमा छौं । सबैं प्रति ऋणि र आभारी छु ।’ 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully