यादवको साथबाट एक लाख एक हजार बराबरका नोट बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
कपिलवस्तु — एक हजार दरका नक्कली नोटको कारोबारमा संलग्न आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीले गत फागुन १ गते बुद्धभूमि नगरपालिका–६, कर्नौलियाका सट्टु यादवलाई पक्राउ गरेको थियो ।
यादवको साथबाट एक हजार दरका ९९ थान नक्कली नोट बरामद भएका थिए । दुई ठाउँमा उनले कारोबार गरिसकेका थप दुई थान गरि एक लाख एक हजार बराबरका नोट बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
अनुसन्धानका क्रममा कारोबारमा संलग्न आरोपमा बुद्धभूमि–६, कर्नौलिया बस्ने अजय यादव, कपिलवस्तु–७, कचरिहवाका पटेश्वरीप्रसाद गुप्ता र साजिदा खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चारै जनालाई मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
