निर्वाचन प्रहरीलाई अभ्यस्त बनाउन ‘नमुना मतदान’

मतदान स्थल निर्माण, मतदान केन्द्रको सुरक्षा व्यवस्था, सम्भावित जोखिम लगायतका विषयमा व्यावहारिक अभ्यास गराइएको छ ।

फाल्गुन ७, २०८२

माधव अर्याल

'Sample voting' to accustom election police

What you should know

पाल्पा — जिल्ला प्रहरी कार्यालय पाल्पाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीलाई अभ्यस्त बनाउन ‘नमुना मतदान’ अभ्यास गराएको छ ।

मतदानमा सहभागीहरुलाई गर्ने व्यवहार, सुरक्षामा खटिँदा जान्नुपर्ने विषयलाई प्रभावकारी बनाउन नमुना मतदान गराएको हो । उनीहरुलाई मतदान केन्द्र निर्माण गर्नसमेत सिकाइएको छ । मतदान स्थल निर्माण, मतदान केन्द्रको सुरक्षा व्यवस्था, त्यहाँ आइपर्न सक्ने सम्भावित जोखिम लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । 

१ हजार १ सय ४१ निर्वाचन प्रहरीलाई नमुना अभ्यास गराएकाले सम्बन्धित मतदान केन्द्रमा खटिँदा सहज हुने उनले बताए । ‘मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्याहरुलाई व्यवहारिक ज्ञान दिएपछि सबैले जिम्मेवारीपूर्वक काम गरुन् भन्ने नै हो,’ उनले भने । नमुना मतदान अभ्यासमा सहभागी निर्वाचन प्रहरीलाई महिला/पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका, सुत्केरीलाई गर्नुपर्ने व्यवहारका विषयमा व्यवहारिक ज्ञान सिकाइएको छ । 

'Sample voting' to accustom election police

नमुना मतदान अभ्यास कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा निर्देशनसमेत दिइएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । उनका अनुसार ११ समूहमा रहेका निर्वाचन प्रहरीलाई सुरक्षा जोखिमलाई कसरी बहन गर्ने भन्ने विषयका साथै मतदान केन्द्रका बारेमा व्यावहारिक ज्ञान दिइएको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचन प्रहरी १ हजार ४ सय बढी साथै ४ सय बढी जनपद प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र, नेपाली सेनाको विओपी र सिओपी पोष्टबाट सुरक्षा प्रदान गरिनेछ ।

'Sample voting' to accustom election police

आगामी निर्वाचनका लागि १ सय १८ मतदानस्थलमा २ सय ५१ मतदान केन्द्र रहनेछ । पाल्पामा २९ अतिसंवेदनशील, ५० संवेदनशील र ३९ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा समितिले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully