बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट ६ जना मानिसको ज्यान गइसकेको छ ।
बर्दिया — समस्याग्रत चितुवालाई डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त टोलीले चितुवा नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–१० स्थित महतन्या सामुदायिक वनमा राखिएको खोरमा वयस्क पोथी चितुवा फसेको थियो ।
चितुवाको आक्रमणले यस पालिकामा ६ जना मानिसको ज्यान गएपछि त्रास रहेको छ । यस क्षेत्रमा समस्याग्रस्त भाले चितुवाको खोजी भए पनि नियन्त्रणमा नआउँदा स्थानीय त्रासमा रहेको बताउँछन् । समस्याग्रस्त भाले चितुवाको खोजी जारी रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले बताए ।
पोथी चितुवा नियन्त्रणमा लिई बर्दिया वन कार्यालयमा राखिएको छ । चितुवाको आक्रमणमा परी बर्दियामा यस आर्थिक वर्षमा ८ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा बाघ र हात्तीबाट दुई जनाको ज्यान गइसकेको छ ।
