‘मतदानका लागि सुरक्षा व्यवस्था मजबुत’

एकीकृत सुरक्षा योजना अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रका नागरिकले ढुक्कसाथ मतदान गर्ने वातावरण मिलाइने डीआईजी खत्रीले बताए ।

फाल्गुन ६, २०८२

माधव अर्याल

'Security arrangements for voting strengthened'

पाल्पा — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क साथ मतदान गर्नेगरी सुरक्षा व्यवस्था मिलाइने लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भुपेन्द्र बहादुर खत्रीले बताएका छन् । प्रदेशका १२ जिल्लाको सुरक्षा व्यवस्था चुस्त राखिएको बताउँदै निर्वाचनका लागि एकीकृत सुरक्षा योजना निर्माण गरिएको जानकारी दिए । 

जिल्लामा आयोजित कार्यक्रममा कुराकानी गर्दै उनले सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाको वर्गीकरण गरिएको बताए । विगतका निर्वाचनको अनुभव र पृष्ठपोषणका साथै राजनीतिक दलका सरोकारमा रहेर सुरक्षा रणनीति बनाइएको उनले बताए । एकीकृत सुरक्षा योजना अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रका नागरिकले ढुक्कसाथ मतदान गर्ने वातावरण मिलाइने उनले बताए । निष्पक्ष, निर्भय, र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सबै सुरक्षा निकाय तदारुकताका साथ लागि परेको उनले बताए । 

तराई, पहाड र हिमाली जिल्लामा सोही अनुसारको सुरक्षा रणनीति बनाएर अघि बढेको डिआईजी खत्रीले बताए । ‘जिल्ला मात्र नभई मतदानस्थललाई अति संवेदनशील, संवेदशनशील र सामान्यमा बर्गीकरण गरेर सोही अनुसारको सुरक्षा व्यवस्थापन गरिएको छ,’उनले भने । निर्वाचन विरोधी समूहका गतिविधिबाट भ्रममा नपर्नसमेत मतदातासित आग्रह गरे । 

यसक्रममा विभिन्न जिल्लाबाट १० जनालाई नियन्त्रणमा लिइसकिएको उनले बताए । निर्वाचन सम्पन्न गर्ने क्रममा विध्नबाधा गर्नेहरुलाई सक्रिय हुन नदिने उनको भनाई छ । सुरक्षा व्यवस्था पूर्ण रुपमा मिलाइनेछ र  विश्वस्त र भरपर्दो सुरक्षा व्यवस्थाका लागि सुरक्षा रणनीतिलाई प्रभावकारी ढंगले लागू गर्ने उनले बताए ।  

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully