‘मीना दिदी पुरस्कार’ बैतडीकी पहिलो महिला शिक्षक कृष्णा बिष्टलाई 

शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदरस्वरूप प्रदान गरिने पुरस्कार बैतडीको ग्रामीण क्षेत्रमा रहेर सामाजिक रूपान्तरणका निम्ति योगदान दिएकी बिष्टलाई प्रदान गरिएको हो ।

फाल्गुन ६, २०८२

माधव अर्याल

'Meena Didi Award' goes to Krishna Bista, Baitadi's first female teacher

What you should know

पाल्पा — ‘मीना दिदी पुरस्कार २०८२’ सुदूरपश्चिमको बैतडीकी पहिलो महिला शिक्षक कृष्णा बिष्टलाई बुधबार प्रदान गरिएको छ ।

शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदरस्वरूप प्रदान गरिने पुरस्कार बैतडीको ग्रामीण क्षेत्रमा रहेर सामाजिक रूपान्तरणका निम्ति योगदान दिएकी बिष्टलाई प्रदान गरिएको हो । 

बिष्ट २०३३ सालदेखि २०६१ सम्म बैतडीमा शिक्षकका रूपमा कार्यरत थिइन् । उनले छाउपडी न्यूनीकरण दलित जनजाति र बालबालिकाको हक हितमा, महिला उत्थानमा एकल महिलाको हकहितमा कार्य गरिब तथा पिछडिएका चेलीहरूलाई प्राविधिक शिक्षामा सहयोग पुर्‍याएकाले पुरस्कार प्रदान गरिएको संस्थापक निलम कार्की निहारिकाले बताइन् । 

‘कृष्णा बिष्टले मीना दिदी जस्तो प्रकारले योगदान दिएका महिला शिक्षकलाई समाजसामु ल्याएर त्यस्तै कार्य गर्न उत्प्रेरणा दिनुहुनेछ,’ उनले भनिन् । पाल्पाको किसान माविमा प्रथम महिला शिक्षिका मीना कुमारी कार्कीको नाममा स्थापना भएको पुरस्कारको राशि ५० हजार र प्रमाणपत्र रहेको छ । मुलुकभरिका शिक्षा क्षेत्रबाट सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान दिनेहरुलाई प्रदान गरिने मीना दिदी पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने उनले बताइन् ।

माथागढी गाउँपालिकाको किसान माविको ६५ औं वार्षिकोत्सवको अवसरका तत्कालीन प्रधानाध्यापक वासुदेव अर्याल, पुरस्कारकी संरक्षण डा. आरती कार्की, सदस्यसचिव उमानाथ पोखरेल, विद्यालय सञ्चालक समितिका अध्यक्ष मधु पराजुली, गाउँपालिका अध्यक्ष यम चिदी, बरिष्ट गायककार नारायण रायमाझीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे । 

दशकअघि शिक्षा क्षेत्रमा आबद्ध भएर छोरीहरूको लागि पढ्नुपर्छ भन्ने उत्प्रेरणाको निम्ति उदाहरण भएर मीना दिदीको प्रेरणालाई भुल्न नसकिने तत्कालीन समयका प्रधानाध्यापक अर्यालले बताए । मीना दिदीले विद्यार्थीका लागि आमाको जस्तो भूमिका निर्वाह गरेको उनले प्रष्ट पारे । विद्यालय सञ्चालक समितिका अध्यक्ष मधु पराजुलीले सम्पूर्ण विद्यार्थी र समाजकै निम्ति मीना दिदीबाट सम्बोधित भएको बताए । 

मीनाकी छोरीहरू प्राध्यापक डाक्टर आरती कार्की र लेखक निलमले यो पुरस्कार स्थापना गरेका हुन् । पाल्पा झडेवाको किसान माविमा शिक्षण गर्ने मीनाको निधन २०७८ माघ २१ मा भइसकेको छ । उनले अर्घाखाँचीका साथै पाल्पाको गोठादी र झडेवामा गरी २७ वर्ष अध्यापन गराएकी थिइन् । शिक्षक स्वाभिमानी पेशाकर्मी हुने भएकोले अन्य व्यक्तिले सिफारिस गर्ने प्रावधान राखेको कार्कीले बताइन् । 

पाल्पा झडेवास्थित किसान माविका भूतपूव विद्यार्थीले स्वर्गीय मीनाको नाममा स्मृति ग्रन्थ ‘मीना दिदी’ प्रकाशन भएको छ । मीनाका छोरा डा. देवेन्द्र कार्की र श्रीमान् भद्रबहादुर कार्कीको २०५६ सालमा दुर्घटनामा परेर निधन भइसकेको छ । निहारिकाले आफ्नो पहिलो साहित्य मौन जीवन (२०५१) ग्रन्थ आमाको सञ्चय कोषको रकमबाट निकालेको बताउने गरेकी छन् ।

साहित्यकार निहारिकाले ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘हवन’, ‘ब्रेन फिभर’, ‘निलम कार्की निहारिका कविता’, ‘कागजमा दस्तखत’, ‘बेली’, ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’, ‘द्रौपदी अवशेष’, ‘त्रिचालीस कथा’ प्रकाशित भइसकेका कृति हुन् । ‘योगमाया’ ले मदन पुरस्कार जितेको थियो । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully