साई ग्लोबल कप अन्तर्गत लीलाराम र होराइजन विजयी

प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयां, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयां, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Leelaram and Horizon win in SAI Global Cup

What you should know

भैरहवा — रुपन्देही लीलाराम र न्यु होराइजन कलेज यहाँ सञ्चालन भइरहेको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार विजयी भएका छन् । यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएका खेलमा लीलारामले साई ग्लोबल कलेज ‘बी’ लाई २८ र होराइजनले मुनलाइटलाई ६३ रनले पराजित गरेका हुन् ।  

टस जितेर ब्याटिङ रोजेको रुपन्देही लीलारामले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । लीलारामका रमेश कुर्मीले अविजित २३, फैजन मुसलमानले २२, अजय केवटले १६, करण यादवले १२ र हरिकेश मुराउले १० रन जोडे । बलिङतर्फ साई ग्लोबल ‘बी’ का विष्णु कटरिया र अमनसिंह घर्तीले समान २–२ तथा विराज यादव र आरभसिंह पौडेलले १–१ विकेट लिए ।

जवाफमा साई ग्लोबल ‘बी’ ले १८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३ रन मात्र बनायो । साई ग्लोबलका विकाश यादवले ४५, विष्णु कटरियाले २१ र अभिशेक सुनारले १६ रन  बनाए । बलिङमा लीलारामका करण यादवले ४, प्रेमसागर यादवले २ तथा हरिकेष मुराउ, रमेश कुर्मी र कलम मुसलमानले १–१ विकेट लिए । 

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ६ विकेटको क्षतिमा २ सय ३ रन बनायो । उसका लागि आरिफ खानले ६२, विप्रसन केसीले २९, संगम पाण्डेले २८, अमर मिश्रले २५ र सिद्धार्थ ढकालले २१ रन जोडे । बलिङमा मुनलाइटका निश्चल ज्ञवाली, निरज मल्ल र दिलसाद अलीलले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मुनलाइटले ८ विकेट गुमाएर १ सय ४० रन बनायो । उसका लागि निश्चल ज्ञवालीले ५९ र दिलसाद अलीले ५८ रन जोडे पनि जितका लागि पर्याप्त भएन । बलिङमा न्यु होराइजनका शुभम खनाल, विप्रसन केसी र शुभम पाण्डेले समान २–२ विकेट लिए । 

फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खांणले बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयां, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयां, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

कान्तिपुर

Link copied successfully