जहाँ शक्तिपीठका मन्दिर भेटिन्छन्, त्यहाँ गाडी रोकेरै मूर्तिलाई ढोक्न छुटाउँदैछन् । मतदाताको पाउमा शिर राख्दा ‘आर्शिवाद’ दिनुस् भन्छन् भने शक्तिपीठमा मूर्ति ढोक्दा उम्मेदवारले आवाज निकाल्दैनन् ।
What you should know
अर्घाखाँची — गाउँमा उम्मेदवारले मत माग्ने शैली र तरिका फरक देखाएका छन् । मतदाताका हातखुट्टा छोपेर ढोग्दै ‘आर्शिवाद’ थाप्छन् । कोही मन्दिर धाउँछन् । यस्ता तस्बिर/भिडियो समाजिक सञ्जालमा भाइरल बनेका छन् ।
विगतका चुनावमा उम्मेदवारले मतदातालाई नमस्कार गर्दै विकासका एजेण्डा सुनाएर मत आफूतिर तान्ने प्रयास गर्थे । यसपटकको फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हातखुट्टा नै ढोक्न पुगेका छन् । जहाँ शक्तिपीठका मन्दिर भेटिन्छन्, त्यहाँ गाडी रोकेरै मूर्तिलाई ढोग्दै छुटाउँदैछन् । मतदाताको पाउमा शिर राख्दा ‘आर्शिवाद’ दिनुस् भन्छन् भने शक्तिपीठमा मूर्ति ढोक्दा उम्मेदवारले आवाज निकाल्दैनन् ।
मत माग्दै कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) ले पाणिनि गाउँपालिका–३ दुर्गाफाँट पुग्दा ९७ वर्षीय वृद्धलाई हात छोपेर ढोग्दै ‘आर्शिवाद’ दिनुस् भनेर भोट मागे । महाशिवरात्रीको दिनभर उनको शैली भिन्न रह्यो । चुत्रावेशी शिद्देश्वर शिवालय मन्दिर, बामरुकको नृसिंहस्थान मन्दिर, दुर्गाफाँट लगायतका शक्तिपीठमा दौडधुप गरेर दिनभर मन्दिरमा रहेका भक्तजनको पाउमा शिर राख्दै हिँडे । त्यहाँ भक्तजनसँग नाचगान पनि सरिक भए । मन्दिरभित्र केही समय बिताए ।
‘आफूभन्दा ठूला, राजनीति र सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मतदाता समक्ष शिर निहुराउनु संस्कार र सम्मान हो,’ उनले भने, ‘मतदातकै आर्शिवादले नै जनताको सेवा गर्ने अवसर मिल्छ ।’ खनाल प्रतिनिधिसभा सदस्यमा पहिलो पटक चुनाव लड्दैछन् ।
गाउँ ठाउँ अनुसार स्थानीयका विकासका माग फरक–फरक भए पनि अधिकांश मतदाताले मानव–वन्यजन्तुको कुरा उठाउँछन् । त्यसमा उनले संसदमा पुगेर नीति बनाउन आवाज उठाएर समाधान गर्ने आश्वासन दिन्छन् । यो सँगै सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, पूर्वाधार विकास, बाह्रै महिना चल्ने सडकसहित विभिन्न उद्यमबाट युवालाई रोजगारी सृजना गर्ने एजेण्डा खनालले सुनाउँछन् ।
यस्तो शैलीमा उम्मेदवारले विकासका एजेण्डा भन्दा पनि ‘आर्शिवाद’ थाप्नमै ध्यान दिएका छन् । त्यहाँ मतदाताले विकासका जे एजेण्डा मागे पनि भोट दिनुस्, सांसद भएपछि गरिदिन्छौं, दिन्छौ भनेर खुसी पार्ने कोशिस गर्छन् । कतिपय प्रदेश, स्थानीय तहर वडाले गर्ने कामलाई पनि आफूले गरिदिने आश्वासन दिन्छन् ।
एमाले उम्मेदवार पिताम्बर भुसाल घरदैलोमा दौडधुपमा छन् । शालिन र भद्र स्वभावका उनी नम्र बोलेरै मत माग्छन् । भेटघाटमा मतदाताले भन्दा पहिल्यै नमस्कार गर्छन् र हात जोडेरै भोट दिनुहोला, जिल्लाको विकास गर्छु भन्छन् । अरु उम्मेदवार भन्दा उनले फरक तरिकाले मतदातालाई आश्वासन दिन्छन् । ‘एमालेबाट निर्वाचित भएका नेताहरुले गरेको विकासलाई पूरा गर्न मलाई जिताएर निरन्तरता दिनुस्,’ उनी भन्छन्, ‘गाउँमा सञ्चालित हरेक विकासका काम पूरा गर्ने र आर्थिक गतिविधि बढाउने मेरो दायित्व हो । यो जिम्मेवारीको भारी बोकाउनुस् ।’
लगातार चार पटक चुनाव जितेर पटक–पटक मन्त्री र उप्रधानमन्त्री भएका बेला टोपबहादुर रायमाझी सुरु गरेका योजनालाई पूरा गर्ने, एमालेबाट निर्वाचित पूर्वसांसद डा. डिल्लीराज खनाल, डा. दुमन थापा सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सांसद रामजीप्रसाद घिमिरेले गरेका कामलाई पनि उनले मतादातासँग राख्दै आएका छन् ।
०७९ को चुनावमा एमालेका रायमाझी, आचार्य र घिमिरे निर्वाचित भएको मतपरिणामलाई आधार मानेर जित निकाल्ने भुसालको दाबी छ । ‘विकासका कामलाई निरन्तरता दिएर पूरा गर्ने र अर्घाखाँचीमै युवालाई रोजगार सृजना गर्ने हो,’ भुसालले भने, ‘आर्थिक क्रान्ति गरेरै जिल्लाको अवस्था फेर्ने मेरो पहिलो लक्ष्य रहन्छ । युवालाई गाउँमै स्वरोजगारको अभियान नै चलाउँछु ।’
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले भेटघाटको भाषण, घरदैलो गर्दा मतदातासँगको कुराकानी सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसारमा जोड दिएका छन् । उम्मेदवार हुनुअघि पनि भेटिने हरेक मान्छेलाई शिर निहुराएर नमस्कार गर्ने, हालखबर खोध्ने उनको बानी हो । ‘जो सामाजिक काममा जीवन बिताएको हुन्छ, त्यस्ता व्यक्तिलाई सम्मान गर्नुपर्छ,’ चौहानले भने, ‘यो सामाजिक सदभाव र एकता हो । आफूले केही पाउनलाई अरुलाई सम्मान गर्नुपर्छ ।’
उनले हरेक भाषणमा टोपबहादुर रायमाझीले सुरु गरेको अर्घाभगवती विमानस्थल, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना सहित कृषि, पशुपालन, पर्यटन उद्यमबाट स्थानीयलाई गाउँमै स्वरोजगार बनाउने कुरा सुनाउँछन् । ‘मैले अर्घाखाँचीलाई कस्तो बनाउने, कसरी विकास गर्ने के–के गर्ने भन्नेबारे रोडम्याप बनाएको छु,’ चौहानले भने, ‘अब भैरहेका अरु विकासलाई पूरा गर्ने र महत्त्वपूर्ण त आर्थिक विकास गरेर जिल्लामै युवालाई रोजगारी सृजना गर्ने हो । मैले चुनाव जितेपछि विकासको रोडम्याप पूरा गर्छु ।’
कांग्रेसका खनाल, एमालेका भुसाल र नेकपाका चौहान पहिलो पटक प्रतिनिधिसभा सदस्यमा भिड्दैछन् । उनीहरु मालारानी गाउँपालिका भित्रका छिमेकी पनि हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल ०७९ को चुनावमा पनि उम्मेदवार थिए । उनले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी १० बुँदे संकल्प घोषणा गरे ।
धार्मिक पर्यटन गुरुयोजना, किसान सुरक्षित, कृषि आत्मनिर्भर, सन्तुलित विकास, गुणस्तरीय शिक्षा सबल स्वास्थ्य सेवा, युवा र उद्यमशीलता, उजाड होइन, उर्वरबस्ती, डिजिटल सुशासन र पारदर्शीता, सुरक्षित र दीगो विकास र एकीकृत बस्ती विकास परियोजना जस्ता विकासका एजेण्डा सार्वजनिक गरेका छन् ।
जिल्लामा तीन स्वतन्त्रसहित दलका गरी १५ जना उम्मेदवार यतिबेला मत माग्न मतदाताको घरदैलोमा पुगेका छन् ।
राजमोका पशुपति ढकाल, प्रलोपाका पुष्कर आचार्य, माओवादीका खिमबहादुर घर्ती, राप्रपाका झन्विन्द्र फुल्लेल, आम जनता पाटीका दुर्गाबहादुर भाट क्षेत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट सूर्यबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका विष्णुबहादुर गाहा, जसपाबाट टुकबहादुर चेवाली रहेका छन् । स्वतन्त्र उम्मेदवारहरु रवि शाह, हिमाल भुसाल र फम्फा श्रेष्ठ रहेका छन् ।
