रुपन्देही क्याम्पस र साई ग्लोबल कलेज ‘ए’ विजयी

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Rupandehi Campus and Sai Global College 'A' win

What you should know

भैरहवा — भैरहवामा मंगलबारबाट ११ औं अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिता अन्तर्गत मंगलबार सञ्चालन भएका दुई खेलमा रुपन्देही क्याम्पस र साई ग्लोबल कलेज ‘ए’ टीम विजयी भएका छन् । रुपन्देही क्याम्पसले सरस्वती संस्कृतलाई १० विकेटले हराएको हो । त्यस्तै साई ग्लोबलले युसिएमयस मेडिकल कलेजलाई ७७ रनले पराजित गर्‍यो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सरस्वतीले १३ ओभरमा सबै विकेटको क्षतिमा ३४ रन मात्र बनायो । रुपन्देही क्याम्पसका सन्तोष यादव, जितेन्द्र केवट, सत्यमसिंह क्षेत्री र शिवकान्त यादवले २–२ विकेट लिए । रुपन्देही क्याम्पसले ३ ओभर ३ बलमा बिना विकेट नोक्सान ३७ रन बनायो । उसको जितमा सन्तोष यादवले अविजित १६ र मनिष थापाले १५ रन जोडे । 

अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबल ‘ए’ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २३ रन जोड्यो । उसका लागि ड्रस सुनारले ९०, शैलेन्द्र यादवले ३७, अजिउल्लाह हकले २९, विन्दराम यादवले २० रन जोडे । बलिङमा युसिएमयसका अजित यादवले २ तथा मन्जुश्री यादव र सफीउल्लाह खानले १–१ विकेट लिए ।

जवाफमा युसिएमयसले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४६ रन मात्रै बनायो । युसिएमयसका अजित यादवले ६८ र सुरज पौडेलले ३९ रन जोडे । बलिङमा साई ग्लोबलका मनिष पन्थीले ३, दिलबहादुर बिक, सन्दीप मौर्य र लेख क्षेत्रीले २–२ विकेट लिए । 

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

कान्तिपुर

Link copied successfully