जिल्लाको वाणगंगा नगरपालिका–२, तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय खोमे थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कपिलवस्तु — जिल्लाका तीन ठाउँमा विस्फोट पदार्थ राखेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बमजस्तो शंकास्पद वस्तु राखेको आरोपमा जिल्लाको वाणगंगा नगरपालिका–२, तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय खोमे थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार बिहान पूर्व पश्चिम राजमार्गस्थित बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे जंगल नजिक, महाराजगञ्ज नगरपालिका–२, बाणगंगा नदीको बर्गदी पुलमा र शिवराज नगरपालिका–१ स्थित शिवपुर रेञ्जर पोस्ट नजिकै बमजस्तो वस्तु राखेको अवस्थामा फेला परेको थियो । पछि यी वस्तुलाई सुरक्षाकर्मीेले निष्क्रिय बनाएको थियो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र पिपराको संयुक्त टोलीले थारुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
मंगलबारै जिल्ला अदालतबाट दिनेको म्याद लिएर प्रहरीले थारुमाथि मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ७ बमोजिम विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
