पिठ्युमा एउटा झोला र हातमा पर्चा बाकेर उनी बिहानदेखि साँझसम्म मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै डुलिरहेका हुन्छन् ।
What you should know
नेपालगन्ज — गाउँ–सहरमा कार्यकर्ताको समूहमा उम्मेदवार र दलका नेताहर चुनावी अभियानमा छन् । यहाँका एक स्वतन्त्र उम्मेदवार भने झोला र हातमा पर्चा बोकेर तामझाम बिना एक्लै प्रचारप्रसारमा खटिएका हुन्छन् ।
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सौभाग्यजंग शाह एक्लै घरदैलो अभियानमा सक्रिय छन्। पिठ्युमा एउटा झोला र हातमा पर्चा बाकेर उनी बिहानदेखि साँझसम्म मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै डुलिरहेका हुन्छन् ।
उनले नेपाली, अवधि र उर्दु गरी तीन भाषामा आफ्ना चुनावी एजेन्डा तयार गरेका छन् । नेपालगन्जको बहुजातीय र बहुभाषिक पहिचानलाई सम्मान गर्दै सबै नागरिकले आफ्नो एजेन्डा बुझ्न पाउनुपर्छ भन्ने उद्देश्य राखेर प्रचारमा लागिरहेको शाहले बताए ।
नेपालगन्जमा विभिन्न जात, धर्म र भाषिक समुदायको सहअस्तित्व रहेकाले सबै भाषाभाषी मतदातासम्म आफ्ना कुरा स्पष्ट रूपमा पुर्याउन तीन भाषामा एजेन्डा सार्वजनिक गरिएको शाहको भनाइ छ। ‘सबै नागरिकले मेरो सोच र योजना बुझ्न पाउनुपर्छ, यही मेरो उद्देश्य हो,’ उनले भने।
जेन–जी आन्दोलनमा ‘दाजु’का रूपमा चिनिएका शाह नेपालगन्जका युवामाझ चर्चित पात्र हुन् । दलहरूले केवल आफ्ना कार्यकर्ता र सीमित गुटको स्वार्थ रक्षा गर्ने ‘सिन्डिकेट’ चलाउँदा विकासका मुख्य मुद्दा ओझेलमा परेको गुनासो बढिरहेकाले मतदातालाई आफ्ना एजेण्डा सुनाइरहेको उनले बताए ।
आफू सानो हुँदा विद्यालयमा पढ्ने ‘नेपाल विकासोन्मुख देश’ भन्ने कुरा वयस्क हुँदा पनि नबदलिएको भन्दै, दलीय विचारधाराभन्दा माथि उठेर उम्मेदवार बनेको उनले बताए । ‘दलमा आबद्ध हुँदा जनताको वास्तविक समस्याभन्दा पार्टीको एजेण्डा र माथिल्लो तहका नेताको निर्देशन मान्नुपर्ने बाध्यताले नागरिकका मुद्दा ओझेलमा पर्ने भएकाले दलीय दबाबमुक्त भएर जनताका पक्षमा संसदमा उभिनु नै आफ्नो एकमात्र लक्ष्य छ,’ शाहले भने ।
शाहले निर्वाचित भएको पहिलो र दोस्रो आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी ‘टाइमलाइन’सहितको विकासको मोडल पनि अघि सारेका छन् । उनको प्राथमिकतामा स्वच्छ खानेपानी र ग्रामीण अर्थतन्त्रको सुधार मुख्य रहेका छन् । नेपालगन्ज र क्षेत्र नम्बर २ का विद्यमान खानेपानी पूर्वाधारमा ‘आरो फिल्टर प्लान्ट’ जडान गरी प्रत्येक घरमा शुद्ध ‘ट्याप वाटर’ पुऱ्याउने लक्ष्यको आश्वासन छ ।
शाहले प्रशासनिक सुशासनका क्षेत्रमा ‘सहायता कक्ष’ को मोडल प्रस्ताव गरेका छन् । मालपोत, नापी र प्रहरी कार्यालय जस्ता सरकारी निकायमा कानूनका विद्यार्थी र वकिललाई स्वयंसेवकका रूपमा परिचालन गरी सेवाग्राहीलाई सिधै सहयोग गर्ने प्रणालीले भ्रष्टाचार र ढिलासुस्तीलाई निरुत्साहित गर्ने उनको विश्वास छ ।
‘सही उम्मेदवार छान्न मतदाताले विगतको आचरण, नीति, संवाद क्षमता, नैतिकता र राष्ट्रिय चेतनालाई आधार बनाउनुपर्छ, यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो,’ उनले भने,‘पुराना र नयाँ राजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धामा घृणा, बदला र भावनात्मक नाराले होइन, दीर्घकालीन सोच, संवाद र उत्तरदायित्वले मात्र देश निर्माण सम्भव छ।’
यस क्षेत्रमा पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास छ । यसपटक बाँके–२ मा विभिन्न दलबाट २० उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार छन् । यसपटक एमालेबाट इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, रास्वपाबाट विवेक श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्ट उम्मेदवार छन् ।
मधेश आन्दोलनबाट स्थापित राई यसै क्षेत्रबाट विजयी भएर दुईपटक मन्त्री भइसकेका छन् । उनका लागि पनि यहाँबाट जित्नु प्रतिष्ठाको विषय बनेको छ । पूर्वमन्त्री राईले पनि जसपा छोडेर एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले यसपटक पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिजा सुधांशुलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट देवकोटालाई उम्मेदवार बनाइएको छ ।
बाँके–२ निर्वाचन क्षेत्रमा प्रत्येक चुनावमा फरक नतिजा आउने गरेको छ। नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका समेटिएको यस क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार जितेका छैनन् । त्यसैले दलहरू विरासत जोगाएर नयाँ इतिहास कायम गर्न लागिपरेका छन् l ०७४ मा जिल्लामा चार वटा निर्वाचन क्षेत्र बनाउँदा नेपालगन्ज बजार क्षेत्र नम्बर ३ मा परेको थियो । यस क्षेत्रमा ९७ हजार ८ सय ९ मतदाता रहेका छन् ।
