मोटरसाइकल ठक्कर दिने टिप्पर चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
पाल्पा — पाल्पा- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा शनिबार भएको दुर्घटनामा मृत्यु भएको दुई जनाको पहिचान खुलेको छ ।
पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बजार नजिकै भएको दुर्घटनामा गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका अन्तर्गत साविकको पुर्तीघाट गाविस–४, का ३१ को मिलन सार्की भएको नागरिकता भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अर्की मृतक बुटवल उपमहानगरपालिका–८, सुख्खानगर बस्ने २८ वर्षीय सीता राना रहेको प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक पुरुष र महिला घाइते भएको जानकारी पाउनासा प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई घाइतेहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रहरीले जनाएको छ ।
अस्पताल पुर्याउँदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल ठक्कर दिने टिप्पर चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीको कमान्डमा टोली खटिएर सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बुटवल तानसेन सडक खण्डमा दैनिक ५ सय बढी टिप्पर संचालन हुन्छ । अधिक भार बोकेका टिप्परले साइड नदिने, तीव्र गतिमा संचालन हुँदा अत्यधिक दुर्घटना हुने गरेको छ ।
