निर्वाचन आयोगका अनुसार पाल्पाका उम्मेदवारहरूले २९ लाखसम्म खर्च गर्न पाउने छन्।
What you should know
पाल्पा — २९ उम्मेदवार चुनावी मैदानमा रहेको पाल्पामा सोमबारसम्म ६ जनाले मात्र बैंक खाता खोल्न सिफारिस लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैंक खाता खोल्न ६ जना उम्मेदवारले मात्र सिफरिस लिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए ।
अहिलेसम्म पाल्पा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीका हुमबहादुर सुनारी र नेशनल रिपब्लिक नेपालका थमन सिं रेश्मीमगरले खाता खोल्नका लागि सिफारिस लिएका हुन् ।
क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापा, नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ र स्वतन्त्र उम्मेदवार मोहन कुँवर थापा मगरले सिफारिस लिएका छन् ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यप्रसाद अर्यालका अनुसार २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै गर्नुपर्ने हुन्छ । त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने उनले बताए ।
बैंकमा खाता खोल्नका लागि सिफारिस लिने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२ निर्वाचन क्षेत्र रहेको पाल्पा–१ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र, २ मा १४ राजनीतिक दल र २ जना स्वतन्त्र गरी २९ उम्मेदवार रहेका छन् ।
उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि आफूलाई पायक पर्ने जुनसुकै बैंकमा छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिस दिने व्यवस्था रहेको छ । निर्वाचन आयोगका अनुसार पाल्पाका उम्मेदवारहरूले २९ लाखसम्म खर्च गर्न पाउने छन्।
