यसअघि जिल्ला प्रशासनको सिफारिसमा गृहमन्त्रालयबाट अंगीकृत नागरिकता प्रदान गरिने झन्झटिलो व्यवस्था थियो ।
गुल्मी — जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पहिलोपटक अंगीकृत नागरिकता प्रदान गरिएको छ ।
यसअघि जिल्ला प्रशासनले सिफारिस गरेर गृहमन्त्रालयबाट प्रदान गरिने व्यवस्था रहेको तर झन्झटिलो र समयमै नागरिकता नपाइने अवस्था थियो ।
हाल अंगीकृत नागरिकता सम्बन्धी अधिकारी प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको छ । जसअनुसार गुल्मीमा पहिलोपटक उक्त नागरिकता प्रदान गरिएको हो ।
गुल्मी रेसुंगा नगरपालिका-१० स्थायी ठेगाना भएकी जमुना बस्नेतले विदेशी नागरिकसँग विवाह गरेकी छिन् । जसअनुसार उनका छाेरा सुरज लेप्चालाई अंगीकृत नागरिकता प्रदान गरिएको हो ।
जिलवर्ट लेप्चा र जमुना बस्नेत दम्पतीका छाेरा सुरज लेप्चा नागरिकताविहीन थिए । उनले यो व्यवस्थापछि नागरिकता पाएका छन् । सुरज २० वर्षका भए । सुरजका बुबा भारतीय हुन् । अंगीकृत नागरिकता पाएपछि जिल्ला प्रशासन कार्यालय पुगेका आमाछाेरा खुसी भएका थिए ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पहिलोपटक गुल्मी प्रशासनबाट अंगीकृत नागरिकता प्रदान गरिएको बताए । उनले जिल्लामा यस्ता समस्या भएका अब कानुनी व्यवस्था भएकोले सहज रुपमा नागरिकता प्रदान हुने बताए ।
