ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परीक्षण

चिदीपानीका १८० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिनुका साथै आयुर्वेदिक औषधि वितरण गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताए ।

माघ २५, २०८२

माधव अर्याल

Door-to-door health check-ups for senior citizens

What you should know

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानीमा ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परीक्षण गरिएको छ ।

चिदीपानीका १८० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिनुका साथै आयुर्वेदिक औषधि वितरण गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताए । 

चिदीपानीका विभिन्न दर्जन बढी टोलमा बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधार र आयुर्वेदिक उपचारप्रति पहुँच विस्तार गर्ने उद्देश्यले घरदैलोमै पुगेको हो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर रक्तचाप (प्रेसर) परीक्षण, स्वास्थ्य परामर्श तथा अश्वगन्धा आयुर्वेदिक औषधि वितरण गरिएको वडाध्यक्ष पन्थीले बताए । 

चिदीपानीको अगाहाखोला गाउँबाट सुरु भएको अभियान सबै टोलमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । वडाध्यक्ष पन्थीसँगै वडासदस्यहरु, चिदीपानी आयुर्वेद औषधालयका प्रमुख डा. श्रीधर अधिकारी, विकास काफ्ले लगायतको टोली सहभागी भई ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझेर ओषधि वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएकाले उनीहरुको स्वास्थ्य सुरक्षाका खटिएको वडाध्यक्ष पन्थीले बताए । भौगोलिक विकटताका कारण स्वास्थ्य चौकी, आयुर्वेद औषधालयसम्म पुग्न नसक्नेहरुका लागि घरमै पुगेर सेवा दिनु स्थानीय सरकारको दायित्व भएको उनले बताए ।

यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने आयुर्वेद औषधालयका प्रमुख डा. अधिकारीले बताए । ‘आयुर्वेदिक उपचारले दीर्घकालीन स्वास्थ्य सुदृढीकरणमा सहयोग गर्ने पुग्छ,’ उनले भने, ‘अश्वगन्धाजस्ता आयुर्वेदिक औषधिले ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।’

नियमित स्वास्थ्य परीक्षण र परामर्शले रोगको समयमै पहिचान गर्न सहयोग पुग्ने ९६ वर्षीय ज्येष्ठ नागरिक सीताराम आचार्यले बताए । स्थानीय सरकारको यस्तो पहलले ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully