गाउँपालिकाका विभन्नि वडामा राखेको आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएका १२० जना मध्ये ७८ जनाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए ।
पाल्पा — पाल्पाको तिनाउ गाउँपालिकाका ७८ जनाले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरेपछि ज्योति फर्केको छ।
गाउँपालिकाका विभन्नि वडामा राखेको आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएका १२० जना मध्ये ७८ जनाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए ।
शल्यक्रिया शिविरका लागि तानसेनस्थित पाल्पा लायन्स लाकौल आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । तिनाउ गाउँपालिका–२ दोभानस्थित स्वास्थ्य चौकीमा सम्पन्न शल्यक्रिया गरिएको गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताए । ‘पहिचान भएका सबै बिरामीको शल्यक्रिया गर्ने लक्ष्य थियो,’ उनले भने, ‘स्वास्थ्य जटिलताका कारण सबैको शल्यक्रिया गर्न सकिएन ।’
लायन्स लाकौल आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराएको हो । दुई दिनसम्म चलेको शल्यक्रिया शिविरमा पहिलो दिनमा ४६ र दोस्रो दिनमा ३२ जनाको शल्यक्रिया गरिएको नेत्र चिकित्सक डा. बेबिका फुँयालले जानकारी दिए ।
तिनाउमा मस्याम, कोलडाँडा, सत्यवती, झुम्सा, कचल, दोभान लगायतका गाउँमा मोतियाविन्दुको स्क्रिीनिङ् गरिएको थियो । भौगोलिक विकटताका कारण साथै पैसा अभाव भएर महंगो उपचार गर्न नसकेकालाई शिविरले फाइदा पुगेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
