फितलो सुरक्षा व्यवस्थाका कारण शुक्रबार केही प्रदर्शनकारीले प्रजिअको कार्यकक्षको ढोका र लेखा शाखाको ढोकामा क्षति पुर्याएका छन् ।
बर्दिया — जिल्लाको सुरक्षा जिम्मेवारी लिएको प्रशासन कार्यालय, बर्दिया आफै असुरक्षित बन्दै गएको छ । फितलो सुरक्षा व्यवस्था भएका कारण शुक्रबार केही प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको ढोकामा क्षति पुर्याए । लेखा शाखाको ढोकामा समेत सामान्य क्षति पुगेको छ ।
माघ १३ गते पनि करिब सय जनाको हुल जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेको थियो । प्रजिअविरुद्ध नाराबाजी गर्दै बैठककक्षमा प्रवेश गर्न लाग्दा हालै सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाही र उनका अंगरक्षकले रोकेका थिए ।
जिल्ला प्रशासन कार्यालयको सुरक्षा जिम्मा लिएको नेपाल प्रहरीले हुललाई रोक्ने प्रयास नगरेको कर्मचारीको गुनासो छ । जिल्ला मुख्यालयको सुरक्षा व्यवस्था निकै फितलो बन्दै गएको बारबर्दिया–४ का सुरेन्द्र चौधरीले बताए । 'जिल्लाको मुख्यालय सुरक्षाविहीन जस्तो भएको छ,’ उनले भने, ‘फागुन २१ गते हुने निर्वाचन भयरहित हुनेमा आशंका छ ।'
विभिन्न समयमा हुने प्रदर्शनले जिल्ला प्रशासन कार्यालयभित्र सुरक्षा चुनौती थप्दै गएको छ । वार्ताका लागि प्रशासनले प्रदर्शनमा आएका ४/५ जना प्रतिनिधिबाहेक अरुलाई मूलगेटबाट प्रवेश गर्न रोक लगाउने गरेको थियो । अहिले भने प्रतिनिधि मात्र होइन हुलका हुल कार्यालयभित्र प्रवेश गरेपछि शान्ति सुरक्षामा असर पर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयको सुरक्षाको जिम्मा नेपाल प्रहरीको छ । आवश्यकता र मागअनुसार सशस्त्र प्रहरी बल, नेपाली सेना पनि परिचालित हुन्छन् । बिदामा काठमाडौं रहेका प्रजिअ गोगनबहादुर हमालले गम्भीर सुरक्षा त्रुटि भएको बताए ।
