विद्यालयमा अध्ययनरत ७ हजार ४५२ जना र विद्यालय भन्दा बाहिर रहेका ९ सय ७७ किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय खोप फोकल पर्सन केदारनाथ शाहले बताए ।
कपिलवस्तु — यस वर्ष जिल्लामा ८ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । गत वर्ष यस अभियानका क्रममा छुटेका र नयाँ गरेर ८ हजार ३२९ किशोरीलाई खोप लगाउन थालिएको हो ।
विद्यालयमा अध्ययनरत ७ हजार ४५२ जना र विद्यालय भन्दा बाहिर रहेका ९ सय ७७ किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय खोप फोकल पर्सन केदारनाथ शाहले बताए । विद्यालयमा कक्षा ६ मा अध्ययनरत र बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।
खोप लगाउन जिल्लामा ३ सय ५१ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जिल्लाभर ७ सय २ जना स्वास्थ्यकर्मी र ३ सय ५१ जना स्वयंसेवक परिचालन गरिने छ ।
जिल्लाभर माघ २५ देखि २९ गतेसम्म एकै चरणमा अभियान सञ्चालन हुने छ । सबै भन्दा धेरै शिवराज नगरपालिकामा विद्यालयमा अध्ययनरत ९ सय ५९ र विद्यालय नजाने ९९ गरेर एक हजार ५८ जना किशोरी रहेका छन् । सबैभन्दा कम बिजयनगर गाउँपालिकाका विद्यालयमा अध्ययनरत ५ सय १० जना र बाहिरका ३७ गरेर ५४७ जना किशोरी छन् ।
