नि:शुल्क आँखा शिविरमा २६ जनाले गराए मोतिविन्दुको शल्यक्रिया 

शिविरमा तीन सय ७४ जनाको आँखा परीक्षण र आवश्यक उपचार गरिएको थियाे ।

माघ २३, २०८२

सन्तोष महतारा

26 people underwent cataract surgery at free eye camp

गुल्मी — गुल्मीको सत्यावती गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित दुई दिने नि:शुल्क आँखा उपचार शिविरमा २६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।

बिहीबार र शुक्रबार सञ्चालित शिविरको आयोजना सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले गरेको हो । 

शिविरमा आएका बिरामीको लाग्ने शुल्क पालिकाले तिरिदिएपछि केन्द्रमार्फत सेवा प्रदान भएको हो । शिविरमा तीन सय ७४ जनाको आँखा परीक्षण र आवश्यक उपचार गरिएको छ । साथै, २६ जना मोतियाविन्दुका बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरेको केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताए । 

मोतिविन्दुको शल्यक्रिया लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाकी नेत्ररोग विशेषज्ञ डा. बेबीका फुयाँलसहित जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका प्राविधिक टिमले गरेको थियो ।

सत्यवती गाउँपालिकाले हरेक वर्ष नेपाल नेत्रज्योति संघ गुल्मीसँगको सहकार्यमा शल्यक्रिया शिविर आयोजना गर्दै आएको छ । साथै, मासिक रूपमा सदरमुकाममा हुने शल्यक्रिया शिविरमा पालिकाका नागरिकहरूको मोतिविन्दुको नि:शुल्क शल्यक्रियाका लागि नेपाल नेत्रज्योति संघ गुल्मीसँग सहमति समेत गरेको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

सन्तोष महतारा

Link copied successfully