संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास : मुख्यमन्त्री आचार्य

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले राप्ती उपत्यका देउखुरीमा संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दैछन् ।

माघ २१, २०८२

दुर्गालाल केसी

Lumbini a successful practice for strengthening federalism: Chief Minister Acharya

What you should know

काठमाडौँ — लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा पनि दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले राप्ती उपत्यका देउखुरीमा संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दैछन् ।

२०७४ माघ २१ मा प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ । स्थापना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सवलिकरणका लागि लुम्बिनी प्रदेशबाट सफल अभ्यास भएको बताएका छन् ।

प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको उनले सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको उनले उल्लेख गरेका छन् ।

संघीयताको औचित्य व्यवहारमा देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको उनले बताए । संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

Lumbini a successful practice for strengthening federalism: Chief Minister Acharya

संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चितताका लागि लुम्बिनी प्रदेश सधैं स्पष्ट र दृढ रहेको उनको सन्देशमा उल्लेख छ । प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यलाई कार्यसम्पादनको मूल आधार बनाइएको आचार्यले बताएका छन् ।

चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरी विकास आयोजना अघि बढाइएको सन्देशमा उल्लेख छ । संघीयताको सवलिकरण र औचित्य व्यवहारमा उतार्दै प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी तथा नागरिकको सहकार्य र सकारात्मक भूमिकाको अपेक्षा गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि साझा प्रयास अपरिहार्य रहेको बताएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully