कमलाको बायाँ खुट्टाले टेक्न मिल्दैन । शरीरका अन्य अंगमा पनि कुटपिटबाट चोट लागेको छ ।
गुल्मी — श्रीमान्ले नवजात शिशुको हत्या र श्रीमतीलाई कुटपिट गरेपछि बेसहारा बनेकी कमला कुमाललाई उपचारका लागि काठमाडौं पठाइएको छ । कमलाका श्रीमान् सन्तबहादुरले आफ्नै तीन महिने शिशु सुवास कुमालको हत्या गरेपछि कमलालाई कुटपिट गरेका थिए । त्यसयता कमला बेसहारा बनेर अलपत्र परेकी थिइन् ।
कुटपिटपछि पीडित बनेकी कमलालाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पठाइएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ र कांग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीको पहल र स्थानीय जनप्रतिनिधि इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवर र वडाध्यक्ष शेरबहादुर कुँवरको समन्वयमा मंगलबार उपचारका लागि पठाइएको हो । पहलकर्ता र समन्वयकर्ताहले दोषीलाई कानुनअनुसारको कारबाही हुने भन्दै पीडित कमलाको उपचारमा कुनै कमी नहुने बताएका छन् ।
कमलाको बायाँ खुट्टाले टेक्न मिल्दैन । शरीरका अन्य अंगमा पनि कुटपिटबाट चोट लागेको छ । एक साताअगाडि नवजात शिशुको हत्या गर्ने सन्तबहादुर प्रहरी नियन्त्रणमा छन् । कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको छ । श्रीमान् र श्रीमतीबीच विवाद बढ्दै जाँदा मादक पदार्थ सेवन गरेका सन्तबहादुरले तीनमहिने छोराको हत्या गरेको प्रहरी बयानमा खुलेको छ ।
कमलाकी छोरी सरिताले आमालाई उपचारका लागि साथमा लिएर गएकी छिन् । उनको स्वास्थ्यको समग्र जाँच हुने इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेरबहादुर कुँवरले बताए ।
