लिवाङमा आयोजित २ दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा जिल्लाभरबाट आँखाको समस्या व्यहोरिरहेका बिरामी आएका थिए।
काठमाडौँ — रोल्पामा आयोजना गरिएको नि:शुल्क आँखा शिविरमा ६५ पुरुष र ५३ महिला गरी १ सय ९ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
नेपालआँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, रोल्पास्थित तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजना एवं द फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोग र विभिन्न स्थानीय निकायको समन्वयमा शिविर संचालन गरिएको हो।
लिवाङमाआयोजित २ दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा जिल्लाभरबाट आँखाको समस्या व्यहोरिरहेका १०९ जना बिरामी आएका थिए। लिवाङस्थित तिलगंगा सर्जिकल सामुदायिक आँखाकेन्द्रका इन्चार्ज खड्ग भाटका अनुसार नयाँ भवनमा शिविर संचालन गरिएको हो।
मोतिबिन्दुका बिरामी सबैको सफल शल्यक्रिया भएको भाटले बताए । नि:शुल्क शल्यक्रिया शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा. दिप्ती प्रधानसहितको प्राविधिक टोली खटिएको थियो।
हरेक वर्ष संस्थाले नि:शुल्क शिविर संचालन गर्दै आएको छ। रोल्पाका १० स्थानीय तहसँग समन्वय गरीसबै तहमा बिरामी छनौट शिविर संचालन गरिएको थियो। १५ वर्षअघि स्थापनागरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाले मोतिबिन्दुको कारणले हुने अन्धोपन न्यूनीकरण अभियान संचालन गरेको छ।
