पाल्पामा निर्वाचन प्रहरीको १० दिने तालिम सुरु

पाल्पा जिल्लाभर १ हजार ५९७ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन सुरु गरिएको हो।

माघ १९, २०८२

माधव अर्याल

10-day training for election police begins in Palpa

What you should know

पाल्पा — दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचन प्रहरीका लागि सदरमुकाम तानसेन र पूर्व भेगस्थित रामपुरमा तालिम सुरू भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाका लागि आवश्यक निर्वाचन प्रहरीका लागि तानसेनको श्रीनगरडााडामा १ हजार १ सयले तालिम लिएका छन् । यस्तै  सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ३५ का साथै इलाका प्रहरी कार्यालय रामपुरमा तीन सयलाई तालिम दिन सुरू गरेको हो ।

पाल्पा जिल्लाभर १ हजार ५९७ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । 

तालिममा निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँगै मिलेर गर्नुपर्ने कामको प्रकृति, आचारसंहिता, अनुशासन सम्बन्धी प्रशिक्षण दिइनेछ । हरेक एक सय जनालाई दुई जना प्रहरीले तालिम प्रदान गरिरहेका छन् । 

निर्वाचन प्रहरीलाई आधारभूत तालिम दिने र उनीहरुलाई पायक पर्ने स्थानमै थप तालिमको व्यवस्थासमेत गरिनेछ । उनीहरूलाई माघम अन्तिमसाता कार्यक्षेत्रमा परिचालन गरिनेछ । पाल्पामा नेपाल प्रहरीतर्फ १ हजार ४ सय १८ जना माग गरिएको थियो । जसमा १ सय २० जना बैकल्पिकमा राखिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ३५ पाल्पातर्फ १ सय ७९ जना माग गरिएको थियो । भर्नाको समयसम्म निर्वाचन प्रहरी अपुग भएपछि पुनः दुई दिन म्याद थप गरेपछि भने प्रहरी र सशस्त्र दुबैतर्फ पूर्णता भएको जिल्ला प्रहरी पाल्पाका प्रमुख दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । 

निर्वाचन प्रहरीमा १८ देखि ५४ वर्ष उमेरसम्मका भर्ना भएका छन् । ४० दिनका लागि भर्ना हुन लागेका उनीहरूले प्रहरी जवानको बराबर तलब र रासन सुविधा पाउनेछन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully