स्पष्ट योजना र खाकाविहीन व्यक्ति प्रधानमन्त्री भए मुलुक थप संकटमा पर्ने : पाण्डे

पाल्पाली मतदाता खोज्दै सोमप्रसाद पाण्डे बुटवलमा, मतदानमा विवेक प्रयोग गर्न आग्रह ।

माघ १८, २०८२

घनश्याम गौतम

The country will be in further crisis if a person without a clear plan and blueprint becomes Prime Minister: Pandey

What you should know

बुटवल — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पाल्पा निर्वाचन क्षेत्र नं २ का उमेदवार सोमप्रसाद पाण्डेले कुनै ‘वाद’ र ‘विचार’ बिनाका नयाँ दलको नेतृत्वमा देश नबन्ने बताएका छन् ।

उनले विश्वका पार्टीहरू कुनै न कुनै वाद वा सिद्धान्तबाट प्रेरित भएर जन्मिएको र तिनीहरू नै दीर्घकालीन राजनीतिक दलको रुपमा स्थापित भएको दाबी गरे । नयाँ दलप्रति लक्षित गर्दै पाण्डेयले स्पष्ट योजना र खाकाबिना प्रधानमन्त्री बनेर देशको विकास गर्छु भन्ने कुरा सम्भव नभएको पनि बताए । 

‘विश्वमा कि पुँजीवाद छ कि समाजवाद हुन्छ । तर, अहिले नेपालमा जन्मिएका नयाँ पार्टीमा कुनै वाद छैन,’ उनले भने, ‘कुनै सिद्धान्त, कार्यनीति र योजनाबिना देशको नेतृत्व गरेर बन्ने प्रधानमन्त्रीले मुलुकलाई कुनै निकास दिन सक्दैन । नयाँ पार्टीमा कुनै ‘इजम’ छैन ।’ नेता पाण्डेले जेनजी प्रदर्शनपछि संकटमा परेको मुलुकलाई सही अवतरणका लागि राजनीतिक दल र सचेत मतदाताले निकास दिनुपर्ने समय आएको बताए ।  

पाल्पा–२ का मतदाता भेटघाटको लागि बुटवल झरेका पाण्डेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जेनजीको माग र उद्देश्य जायज भए पनि भदौ २४ को आगजनीको घटनाले देशको स्वाधीनता र स्वतन्त्रतामा आँच भएको बताए । पाल्पाको विकास र समृद्धिलाई थप विकास गर्न आफू फेरि उम्मेदवार बनेर जनतासमक्ष आएको पाण्डेयले बताए ।

पाल्पाबाट संसदीय यात्रा सुरू गरेको तीन दशक पुगेको बताउँदै उनले जिल्लामा बाँकी रहेका अधूरा काम पूरा गर्न र नयाँ योजना भित्र्याउने गरी फेरि निर्वाचनमा होमिएको बताए । उनले आफू निर्वाचित भएपछि पाल्पामा मात्र ३ सय बढी ठूला योजना भित्र्याएको पनि दाबी गरे ।

पाण्डेसँगै पाल्पा–२ मा एमालेका ठाकुर गैरे, कांग्रेसका हिमालदत्त श्रेष्ठ उमेदवार छन् । २०७९ मा पनि उमेदवार रहेका तत्कालीन नेकपा समाजवादीका पाण्डेलाई माओवादी र कांग्रेसले समर्थन गरेका थिए । तर, त्यति बेला पनि एमालेका ठाकुर गैरेले झण्डै ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए । एमालेका गैरेले २७ हजार ८ सय १७ मत ल्याएर विजयी हुँदा गठबन्धनका पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully