प्यूठानमा युवतीको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान् अनिल घर्ती र देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

माघ १८, २०८२

शमशेरविक्रम जीसी

Husband and brother-in-law arrested for murdering young woman in Pyuthan

प्यूठान — गौमुखी गाउँपालिका–६ लिबाङकी शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार १९ वर्षीय शर्मिला घर्तीको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान् २० वर्षीय अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । 

माघ १६ गते साँझ ८ बजेको समयमा शर्मिलालाई घुम्न जाऔं भनी घरदेखि ६ सय मिटर पर गोन्द्रेचौरमा लगी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

श्रीमान् अनिल र शर्मिलाका बीचमा झैझगडा भएको र अनिलले त्यही ठाउँमा रहेको रेलिङमा ठोकाई बेहोस भएपछि दुई भाइ मिलेर रेलिङ नजिकैबाट कालिमाटी भीरमा पल्टाइ हत्या गरेको प्रहरीले जनाएको छ ।  

श्रीमान अनिल घर्तीले शर्मिला परपुरुषसँग लागेको र सोही विषयमा झगडा भएको बताएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाएको छ । 

पक्राउ परेका दुई जनालाई अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully