निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी सहायक प्रजिअ र कोलेनिका प्रमुखलाई

उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे/नगरेको बारे अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी निर्वाचन आयोगले अनुगमन अधिकृतलाई दिएको छ ।

माघ १७, २०८२

माधव अर्याल

The responsibility of monitoring the election code of conduct falls on the Assistant District Attorney and the Chief of the Kolenika.

What you should know

पाल्पा — मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले निर्वाचन आचारसंहिता अनुगमनका लागि दुई जना अनुमगन अधिकृत तोकेको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीका अनुसार जिल्लाभर निर्वाचन आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यप्रसाद अर्याललाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको हो ।

उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे/नगरेको बारे अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी निर्वाचन आयोगले अनुगमन अधिकृतलाई दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीलाई  आर्थिकबाहेकका अन्य विषयको जिम्मेवारी दिइएको कार्यालयले जनाएको छ । प्रमुख कोष नियन्त्रकलाई राजनीतिक वित्त तथा निर्वाचन खर्चसंग सम्बन्धित विषयमा अनुगमन गर्ने जिम्मेवारीसहित अधिकृत तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिता माघ ४ गतेदेखि लागु भइसकेको छ । 

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले आचारसंहिता पालना गरे/नगरेको विषयलाई नियमन गर्नेछ । कोही कसैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा अनुगमन अधिकृतले कारबाही गर्नसक्ने अधिकार छ । 

राजनीतिक दल वा उम्मेदवारले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिहृन वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए/नलगाएको अनुगमन गर्नेछ । निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए/नभएको विषय अनुगमन गर्ने अधिकार रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

सवारी साधनको प्रयोग भए/नभएको विषयलाईसमेत अनुगमन गरिनेछ । घोषणापत्र सार्वजनिक गरे/नगरेको विषय हेर्ने अधिकार अनुगमन अधिकृतलाई छ। निर्वाचन प्रचारप्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएकोसमेत हेर्ने छन् । निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने भनिएको छ । खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेकोलगायतका विषयमा अनुगमन गर्ने अधिकार अनुगमन अधिकृतलाई छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पाको दुई निर्वाचन क्षेत्रमा राजनैतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए । क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully