तीन स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको बर्दिया १ मा सबैजसो उम्मेदवारले प्रायः पुरानै विषयलाई चुनावी मुद्दा बनाएका छन् ।
What you should know
बर्दिया — प्रतिनिधिसभा निर्वाचनका लागि गाउँमा बर्दिया क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १५ जना उम्मेदवार छन्।
सबैजसो उम्मेदवारले मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। यो क्षेत्रमा पुराना दलले नयाँ दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नु परेको छ।
यो क्षेत्रबाट २०७० देखि लगातार तीनपटक सांसद जितेका सञ्जय गौतम यसपालि पनि कांग्रेसबाट उम्मेदवार भएका छन् । गौतम ०६४ को संविधानसभा निर्वाचनमा माओवादी सशस्त्र द्वन्द्वका बेला बर्दियाका जनसरकार प्रमुख रहेका विष्णु चौधरीसंँग पराजित भएका थिए । यसपालि चौधरी पनि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन्।
गौतम र चौधरी यसअघि मन्त्रीसमेत भइसकेका छन् । चौधरी थारु आयोगका पूर्वअध्यक्ष पनि हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारु ०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएका थिए । पहिचानको मुद्दासहित एमालेबाट राजनीति सुरु गरेका उनी नागरिक उन्मुक्ति हुँदै अहिले रास्वपामा प्रवेश गरेका छन्।
जनमत पार्टी परित्याग गरी पूर्वमन्त्री अब्दुल खान भने नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका छन् । सीके राउतसँग मनमुटाव भएपछि उनले जनमत पार्टी परित्याग गरेका थिए । एमालेबाट बासगढी नगरपालिका पूर्वमेयर एंव पार्टी अध्यक्ष शालिकराम अधिकारी पहिलो पटक संसदीय यात्रामा छन्। जनमत पार्टीबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान कोषाध्यक्ष यमनाथ घिमिरे उम्मेदवार छन्। यो क्षेत्रमा तीन स्वतन्त्र उम्मेदवारसहित १५ जना चुनावी प्रतिस्पर्धामा छन्।
बर्दिया १ मा सबैजसो उम्मेदवारले प्रायः पुरानै विषयलाई चुनावी मुद्दा बनाएका छन् । सबैजसो उम्मेदवारले जब्दीघाटमा भाँसिएको पुल निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, किसानलाई मलखाद, सिँचाइ तटबन्धलगायत रोजगारी सृजना जस्ता विषयलाई चुनावी मुद्दा बनाएका छन्।
मतदातामा अहिले चुनावको विषयमा खासै छलफल नभएको गुलरिया नगरपालिका–५ वालापुर टोलकी बरघर सुल्फी चौधरी बताउँछिन् । ‘घरायसी काम र खेतीपातीमा किसान व्यस्तता भएकोले होला कुन उम्मेदवारलाई सघाउने भन्नेबारे गाउँमा छलफल भएको देखिँदैन,’ उनले भनिन्,‘जति उम्मेदवार आए पनि चिल्ला कुरा र झुठा आश्वासन नै बाड्ने हुन् ।’
तीन पटक निर्वाचित भएका कांग्रेसका गौतम यसपाला पनि उम्मेदवार भएका छन् । ०७४ मा गौतमले ४४ हजार ८ सय ३४ मत ल्याएर तत्कालीन एमाले नेता वामदेव गौतमलाई पराजित गरेका थिए । वामदेवले ४४ हजार ७६ मत पाएका थिए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका गौतमले प्रतिद्वन्द्वी एमालेका लक्ष्मण ज्ञवालीलाई पराजित गरेका थिए । गौतमले ३० हजार ६ सय ११ मत र ज्ञवालीले २६ हजार १ सय ५५ मत प्राप्त गरेका थिए । तत्कालीन नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले २३ हजार ९ सय २३ मत पाएका थिए ।
रास्वपा, जनमत पार्टी, जसपा, राप्रपालगायत पार्टीका उम्मेदवारले पुराना दललाई चुनौती दिइरहेको स्थानीय बताउँछन् ।
बासगढी नगरपालिका–२ का २८ वर्षीय जनक थारुले जेन–जी आन्दोलनपछि अहिले राजनीतिक परिस्थिती फरक भएको बताए । ‘नयाँ पुस्ता परिवर्तन चाहन्छन्,’ उनले भने, ‘नयाँ पुस्तामा पनि ईमान्दार, परिपक्क, देशका लागि काम गर्ने उम्मेदवारको खाँचो छ ।’ परिस्थिती फरक भएका कारण पुराना दललाई यसपाली चुनौती थपिएको उनले बताए ।
नयाँ दलका उम्मेदवारहरु पुराना दलकालाई पराजित गर्ने दाबी गर्दै आएका छन् भने पुराना तथा ठूला दल आफ्नो संगठन बलियो भएकोले जित निश्चित भएको दाबी गर्दै आएका छन् ।
