जनमुक्तिले देशलाई ५ वर्षभित्रै भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
What you should know
बुटवल — राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने लक्ष्यसहितको घोषणा पत्र जारी गरेको छ ।
जनमुक्तिले देशलाई ५ वर्षभित्रै भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
पार्टीले शुक्रबार बुटवलमा ‘सबैको साथ, सबैको विकास’ भन्ने मूल मान्यतासहित प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका महासचिव टोप अस्लामीले नेपाल एक बहुलबादी समाज भएको राष्ट्र भएको र यसले केन्द्रीय तहमा कुनै पनि एक व्यक्ति राष्ट्रपति रहने व्यवस्था भन्दा क्लस्टरमा आधारित राष्ट्रपति उपयुक्त बताए ।
‘जसलाई संसद्ले चुन्नेछ,’ उनले भने, ‘कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने, मन्त्री मण्डल संसद् र गैरसंसद्बाट बनाउन सकिने व्यवस्था उचित हुन्छ ।’
यसैगरी प्रदेश तहमा पनि मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन उचित हुने र त्यसका लागि आफ्नो पार्टी सहमत र प्रतिबद्ध रहेको उनले बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीले संविधान त्रुटिपूर्ण रहेकाले राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न नसक्ने पनि उल्लेख गरेको छ । सुधारका लागि शक्तिशाली राज्य पुनर्संरचना आयोग गठन गरी त्यसको सुझाव अनुसार मात्र संघीय मोडलमा जानुपर्ने जनमुक्तिको सुझाव छ । त्यस्तै, भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्दै ५ वर्ष भित्र देशलाई भ्रष्टाचारमुक्त बनाउने, नेपालकै कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्दै देशलाई औद्योगीकरण गर्ने, वैदेशिक ऋण लिने नीतिलाई निरुत्साहित गर्ने र रोजगारको लागि स्वदेश र विदेशको विकल्पलाई समान रुपमा लिने पनि घोषणापत्रमा उल्लेख छ ।
राष्ट्रिय जनमुक्तिले देशभरबाट प्रत्यक्षतर्फ १७ जना उम्मेदवार चुनावी मैदानमा उतारेको पार्टीका अध्यक्ष केशव सूर्यवंशीले बताए । तीमध्ये लुम्बिनी प्रदेशमा मात्र १० जना उमेदवार छन् । ‘जहाँ हाम्रो उमेदवार छैन्, राम्रो उमेदवार हेरेर सहयोग गर्ने नीति बनाएका छौं,’ उनले भने, ‘हाम्रो पार्टी संघीयतालाई स्वीकार गरेको तर, यसको संशोधन जरुरी रहेको मान्यता राख्दै आएको छ ।’
