गुल्मीमा श्रीमान्-श्रीमती विवादमा तीन महिने शिशुको हत्या

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

माघ १५, २०८२

सन्तोष महतारा

Three-month-old baby killed in Gulmi due to husband-wife dispute

गुल्मी — गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ बजे आसपासमा हत्या गरेको खुलेको छ । घटनासम्बन्धी जेठी छोरी सरिता कुमाले प्रहरी चौकी हस्तीचौरमा जानकारी गराएकी थिइन् ।


घटनास्थलमा प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमान्डमा दुई जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा पाँच जनाको टाेली खटिएको छ । छाेरा सुवासकाे हत्या गरेको बुबा सन्तबहादुरले स्वीकार गरेका छन् । यससम्बन्धी कारण भने खुलेको छैन ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमान् र श्रीमती विवादमा मादक पदार्थ सेवन गरेका उनलेे शिशुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

सन्तोष

Link copied successfully