थाई राजपरिवारकी सदस्य लुम्बिनीमा

राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य)को उपाधि प्रदान गरेका छन् ।

माघ १५, २०८२

मनोज पौडेल

Thai royal family members in Lumbini

लुम्बिनी — थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेकी छिन् । सीमावर्ती नाका भैरहवाको बेलहिया हुँदै उनी बिहीबार अपराह्न साढे ४ बजे लुम्बिनी आइपुगेकी हुन् ।

भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी ४१ वर्षीया उनी लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा बसेकी छिन् । बिहीबार साँझ उनी रोयल थाई मोनास्ट्रीद्वारा आयोजित विशेष पूजामा सहभागी भएको लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेशवजिरा शुद्धिले बताए । त्यसअघि उनले स्थानीय बासिन्दासँग भेटघाट गरेकी थिइन् । 

शुक्रबार बिहान ९ बजे उनले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गर्ने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । त्यहाँबाट उनी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे बैंकक प्रस्थान गर्नेछिन् । 

उनले बौद्ध धर्मावलम्बीको चार धाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरिन् । चार धामअन्तर्गत पर्ने लुम्बिनी पूजाआजा गर्न यहाँ आएकी हुन् । उनी ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी छन् । जनवरी २१ तारिखमा उनी चार्टर्ड विमानद्वारा भारत पुगेकी थिइन् । राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।

मनोज पौडेल

Link copied successfully