दाउन्नेमा लामो जाम

बुधबारको सामान्य झरीका कारण राजमार्ग हिलाम्य भएको छ ।

माघ १५, २०८२

नारायण शर्मा

Long traffic jam in Daunne

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा वर्षातले हिलो भएपछि गाडी चढन समस्या हुँदा राजमार्गमा लामो जाम रहेको छ ।

प्रहरीका अनुसार दुम्कीवासदेखि करिब ४ किलोमिटर पश्चिमको विश्वकर्मा मन्दिरमा राजमार्ग चिप्लो भएर गाडी वारपार हुन नसक्दा ३ किलोमिटर लामो जाम छ ।

बुधबारको सामान्य झरीका कारण राजमार्ग हिलाम्य भएको छ । निर्माणधीन राजमार्ग हिलाम्य भएर चिप्लो भएका कारण मालबहाक र ठुला गाडी उकालो चढ्न नसकेर समस्या भएको हो ।

‘विस्तारै एक–एक गाडी पालैपालो वारपार गराउँदै छौं,’ फिल्डमा खटिएका प्रहरी निरीक्षक थमन रानाले भने, ‘घाम नलाग्दासम्म राजमार्ग क्लिएर हुन समस्या भएको छ ।’

जाममा फसेका गाडी गन्तव्यतिर पठाउन आफैं खटेको उनले सुनाए । दाउन्नेमा बिहान साढे ३ बजेदेखिको जाम छिचोल्न लाइनमा बसेका गाडी अझै वारपार हुनसकेको छैन ।

‘बिहान साढे ४ बजेदेखि जाममा छु, अहिले बिहान साढे ८ बजे बल्ल विश्वकर्मा भन्दिर नजिक पुगेको छु,’ त्यहाँ रोकिएका विनोद कँडेलले भने, ‘राजमार्गको यस्तो अवस्था हुँदा पनि निर्माणको जिम्मा लिएका ठेकेदार के हेरेर बसेका छन् ?’

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully