वर्षापछि दाउन्नेमा सडक अवरुद्ध

बुधबार परेको वर्षाका कारण सडक चिप्लो हुँदा उकालोमा सवारी उक्लन समस्या भएपछि यातायात एकतर्फी भएको हो ।

माघ १४, २०८२

नवीन पौडेल

Road blocked in Daunne after rain

नवलपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।

बुधबार परेको वर्षाका कारण सडक चिप्लो हुँदा उकालोमा सवारी उक्लन समस्या भएपछि यातायात एकतर्फी भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो २ बजेदेखि विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला र विश्वकर्मा मन्दिर  नजिकै सवारी सञ्चालन हुन नसक्दा यातायात अवरुद्ध भएको हो । दाउन्ने खण्डमा अहिले २ सयभन्दा बढी सवारी साधन जाममा फसेको छ । 

दुम्किबासबाट बर्दघाटतर्फ जाने सवारी सडक चिप्लो हुँदा सञ्चालनमा असहजता भएपनि बर्दघाटबाट दुम्किबासतर्फ आउने सवारी एकतर्फीरुपमा चलेका छन् । तर लामो जामको कारण बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

विस्तारको क्रममा रहेको बुटवल नारायणगढ सडक खण्डमा दाउन्नेमा अहिले सडक ढलानको काम भइरहेको छ । दाउन्नेमा बाक्लो हुस्सु र सामान्य वर्षामा पनि सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुँदै आएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully