निर्वाचन सुरक्षाका दृष्टिकोणले थवाङ, परिवर्तन, सुनछ्हरी, गंगादेव र रुन्टीगढी गाउँपालिकामा रहेका कतिपय मतदानस्थललाई उच्च प्राथमिकता दिँदै अति संवेदनशील मानिएको हो।
What you should know
काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पाका १ दर्जन मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले 'अति संवेदनशील' सूचीमा राखेको छ।
सुरक्षा सतर्कता, राजनीतिक दल बीचको टकराव, भौगोलिक अवस्था र निर्वाचन सुरक्षाको पहुँचका आधारमा ती मतदानस्थललाई 'अति संवेदनशील' मानिएको जिल्लास्थित निर्वाचन सुरक्षा समितिले जनाएको छ।
निर्वाचन सुरक्षाका दृष्टिकोणले थवाङ, परिवर्तन, सुनछ्हरी, गंगादेव र रुन्टीगढी गाउँपालिकामा रहेका कतिपय मतदानस्थल तथा मतदान केन्द्रलाई उच्च प्राथमिकता दिँदै अति संवेदनशील मानिएको हो। 'ती पालिकामा रहेका कतिपय मतदानस्थल र मतदान केन्द्रलाई बढी सुरक्षित बनाउन र उच्च प्राथमिकतामा राख्न सतर्कता अपनाइने छ,' जिल्लास्थित निर्वाचन सुरक्षामा खटिएका एक सुरक्षा अधिकारीले भने।
तीबाहेक अन्य पालिकामा रहेका मतदान केन्द्रमध्ये केही मतदान केन्द्रलाई समेत संवेदनशील मानिएको छ। विगतमा निर्वाचन विरुद्धको गतिविधिमा संलग्न शक्ति एवं दलले यो पटक निर्वाचनमा भाग लिएकाले निर्वाचनको वातावरण सहज हुने सुरक्षा अधिकारीहरुको धारणा छ।
यद्यपि निर्वाचनमा भाग लिएका राजनीतिक दलका कार्यकर्ता बीच झडपका घटना हुनेमा भने सुरक्षा अधिकारी सशंकित छन्। अघिल्ला निर्वाचनहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचनको विरोध र बहिष्कार समेत गरेको थियो।
यो पटकको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने र सक्रिय गतिविधि गर्ने घोषणा गरेका नेकपाका महासचिव चन्दले आफ्नो पार्टीका उम्मेदवार उठाएका छन्। 'यो पटकको निर्वाचनलाई कसैले पनि बहिस्कार नगरेकाले निर्वाचन शान्तिपूर्ण रूपमा हुने देखिएको छ,' जिल्लास्थित निर्वाचन अनुगमन समितिका सदस्य एवं सामाजिक अभियन्ता अर्जुन डाँगीले भने।
रोल्पामा मुख्य ठूला दलहरु कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेकपा, राप्रपा, रास्वपालगायत १० वटा राजनीतिक दलले उम्मेदवार उठाएका छन्। ती दलले निर्वाचन केन्द्रित गतिविधि समेत थालिसकेका छन्।
यो पटकको निर्वाचनमा रोल्पामा ८६ मतदान स्थल र १ सय ८० वटा मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन अधिकारी शिवकुमार पौडेलले बताए। अघिल्लो पटकको निर्वाचनमा भन्दा यो पटक ५ वटा मतदान केन्द्र थपिएको हो। जिल्लामा मतदाताको संख्या १ लाख ४९ हजार ५ सय ९७ छ। जसमा महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० छन्। अघिल्लो निर्वाचनमा भन्दा यो पटक ४ हजार १ सय २६ मतदाता थपिएका हुन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त रहेको र त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए।
रोल्पाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विनोद खतिवडाले भयरहित, निष्पक्ष रूपमा र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन लागिपरेको बताए। निर्वाचन सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी संयुक्त सुरक्षा दस्ता खटिनेछ।
