एक वर्षदेखि सञ्चालक समिति र व्यवस्थापकबीचको टकरावको कारण सहकारीमा समस्या आएपछि बचतकर्ता रकम डुब्ने चिन्तामा छन् ।
परासी — रामग्राम नगरपालिका–१५ स्थित साना किसान कृषि सहकारी संस्थामा शेयर सदस्यहरुले पाँच दिनदेखि तालाबन्दी गरेका छन् ।
२०६४ सालमा स्थापना भएको सहकारीले रासायनिक मलको वितरण, बचत संकलन र ऋण प्रवाह गर्दै आइरहेको छ्। एक वर्षदेखि सञ्चालक समिति र व्यवस्थापकबीचको टकरावको कारण सहकारीमा समस्या आएपछि बचतकर्ता रकम डुब्ने चिन्तामा छन् ।
लामो समयदेखि साधारणसभा र नेतृत्व चयन प्रक्रिया अनुसार नभएको भन्दै सदस्यहरुले माघ ७ गते तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि नगरपालिकाले समस्या समाधानको लागि पहल गरिदिने आशामा तालाबन्दी गरेका हुन् ।
बचतकर्ताले समयमा बचतफिर्ता नपाएको ऋण प्रवाह नभएको र समयमा नै मल नपाएको गुनासो गर्दै आएका छन् । १ हजार १ सय सदस्य रहेको संस्थामा सञ्चालक समितिको पदावधि सकिएको १ वर्ष हुँदा समेत साधारणसभा र अधिवेशन नभएकाले तालाबन्दी गरेको संस्थाका सल्लाहकार रामदेव बानियाँले बताए। ‘व्यवस्थापक र अध्यक्षको लडाइँका कारण उपभोक्ता मारमा परियो,’ बनियाँले भने, ‘दुःखमा काम लाग्ला भनेर गरेको बचत समस्या पर्दा झिक्न नपाएपछि के काम लाग्यो ।’
लामो समयदेखि विवाद भएपछि रामग्राम नगरपालिकाले तत्काल साधारणसभा गरेर नयाँ नेतृत्व चयन गर्न निर्देशन दिँदा समेत नभएपछि सदस्यहरुले समस्या समाधानको लागि कानुनी उपचार खोज्न आग्रह गरेका छन्। साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिरा चौधरीले भने नगरपालिकाले बनाएको सहकारी विनियम अनुसार नै आफूहरूले काम गर्दै आएको जिकिर गर्दै आएकी छन् ।
