लुम्बिनी प्रदेश सभाको बैठक मंगलबारदेखि

लामो समयदेखि स्थगित सातौं अधिवेशनको बैठक नियमित हुने प्रदेश सभा सदस्यको आशा ।

माघ १२, २०८२

घनश्याम गौतम

Lumbini Provincial Assembly meeting from Tuesday

What you should know

बुटवल — लामो समयदेखि स्थगित लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक मंगलबार बस्ने भएको छ । मंगलबारदेखि सातौं अधिवेशनका बैठकहरू नियमित हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले मंसिर ८ गतेका लागि प्रदेश सभाको सातौं अधिवेशन आहृवान गरेका थिए । तर, सातौं अधिवेशनको पहिलो बैठक मात्र बसेर स्थगित भएको थियो । सभामुख तुलाराम घर्ती मगरले विभिन्न जातजातिका चाडपर्व, राजनीतिक दलका अधिवेशन एवं अन्य गतिविधि र राष्ट्रिय सभाको निर्वाचनलाईसमेत ध्यान दिएर बैठक नबसेको बताए । ‘अब बैठक नियमित चलाउने प्रयासमा छौं,’ उनले भने, ‘प्रदेश सभाको छलफलका लागि सरकारबाट केही विधेयकहरू दर्ता पनि भएका छन् ।’

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गर्दै प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक मंगलबार बस्ने बताए । लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख छ ।

प्रदेश सभा सदस्य एवं एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सभा बैठक नियमित नहुँदा केही विधेयक माथिको छलफल रोकिएको र चुनाव अघि ति विधेयकहरू पारित गर्ने गरी नियमित बैठक राख्ने गरी छलफल भईरहेको बताए । ‘अब केही समय नियमित बैठक चल्नु पर्छ भन्ने सबैको राय छ,’ उनले भने, ‘धेरै प्रदेश सभा सदस्यले पनि बैठक राख्नु पर्‍यो भन्ने सुझाव दिएकाले चुनाव अघि भएपनि बैठक बस्ने गरी छलफल भएर आहृवान गरिएको हो ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully