नेपालगन्जमा महिला उद्यमी प्रदर्शनी माघ १४ देखि

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनी आयोजना गर्दै आएको छ।

माघ ११, २०८२

रुपा गहतराज

Women Entrepreneurs Exhibition in Nepalgunj from Magh 14

What you should know

नेपालगन्ज — महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको आयोजना हुने भएको छ ।

दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यही माघको १४ देखि माघ १८ गतेसम्म सञ्चालन हुनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेकी अध्यक्ष रेवती सिंहले महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो प्रदर्शनी महत्त्वपूर्णसावित हुँदै गएको बताइन्।

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको १०औं संस्करण नेपालगन्ज उपमहानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगडको मुख्य प्रयोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र  सुदूरपश्चिमका गरी करिब दुई सय महिला उद्यमीको सहभागिता रहने प्रदर्शनी संयोजक एवम् महिला उद्यमी सङ्घ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष आभा गौतमले बताइन्।

करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु,फलोरिकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, शृङ्गार तथा गरगहनालगायतका सामग्री तथा वस्तु बिक्री, प्रचारप्रसारका लागि राखिने महिला उद्यमी सङ्घ नेपाल बाँकेकी महासचिव बिन्दु चर्तिमगरले बताइन्।

प्रदर्शनीले नवआगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासङ्घ नेपालको केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन्। महिला उद्यमी सङ्घ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्रेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नया उद्यमी उत्पादन गरिरहेको बताइन्। 

करिब ६ लाख बजेट रहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८२ अवलोकन गर्नका लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रर्दशनीका दौरान विज्ञहरुको उपस्थितिमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि बैंकिङ कारोबार, उद्यमशीलताको बारेमा अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिनेछ l

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully