कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो।
What you should know
दाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेबाट महिला कोटामा मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्री ६३०३ मतभारका साथ निर्वाचित भएकी छिन् । झाँक्री पूर्व सहरी विकास मन्त्री हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी झाँक्री अनेरास्ववियूको पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।
कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका वासुदेव घिमिरे ६३२२ रअन्य कोटामा रेसुङ्गा नगरपालिका–३, गुल्मीका चन्द्रबहादुर केसी ५९७७ मतभारका साथ निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । उनीहरु कांग्रेसका पुराना नेता हुन् ।
कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो।
निर्वाचनमा २ सय ८६ मत खसेको थियो। जसमा प्रदेशसभा सदस्यतर्फ पुरुष ४८ रमहिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्यतर्फ ५ र स्थानीय तहतर्फ ८ जना मतदानमा अनुपस्थित भए ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजिनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेका थिए।
तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार थिए ।
नेपाली कम्युनिष्ट पार्टीबाट महिला कोटामा बराङ्दी गाउँपालिका–१, पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५, बाँकेका सर्जन विक र अन्यमा बर्दघाट नगरपालिका–१४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारी उम्मेदवार थिए ।
राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य कोटामा उम्मेदवार थिए । महिलामा प्युठान नगरपालिका–८, प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्युठानका बोम बहादुर खत्री थिए ।
एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेर तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिदैछ। भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए ।
