नवलपरासी पश्चिमका स्वतन्त्र उम्मेदवारको रोजाइमा आँपदेखि ढिकी–जाँतोसम्म ।
परासी — पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधि सभाका उम्मेदवारले आँपदेखि ढिकी–जाँतोसम्म चुनाव चिह्न पाएका छन् । क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार उमाशंकर खरबिन्दले आँप चुनाव चिह्न लिएका छन् । मनोज हरिजनले डस्टबिन चुनाव चिह्न रोज्दा सुरेश तेलीले भने ढिकी चिह्न रोजे ।
क्षेत्र नं १ मा अलियाम मियाले अनार र शत्रुधन चौधरीले जाँतो चुनाव चिह्न पाएको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटले जनाएको छ ।
जिल्लामा क्षेत्र नं २ मा १२ र क्षेत्र नं १ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । ५७ जनाले उम्मेदवारी दिएकामा दुई जनाको उम्मेदवारी खारेज भएको छ ।
चुनाव चिह्न पाएपछि दल र स्वतन्त्र उम्मेदवारले चुनावका लागि प्रचार सामग्री बनाउन र घरदैलोका लागि कार्ययोजना बनाउन लागेको बताएका छन् ।
