अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौं शताब्दीका भएको पुष्टि भएको छ । प्राचीन संरचना भेटिएको स्थलमा अहिले बस्ती र स्थानीयले खेतीपाती गर्दै आएका छन् । यसलाई अधिग्रहण गरेर थप उत्खनन र यसको संरक्षणमा लागिपर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।
परासी — उत्खननका क्रममा ऐतिहासिक संरचना र बस्तु भेटिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा यस वर्ष पनि उत्खनन कार्यलाई निरन्तरता दिइएको छ ।
२०८१ मंसिरमा एक महिनाभन्दा बढी समय लगाएर गरिएको उत्खननमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्त्विक सामग्री फेला परेका थिए । फेला परेको ती सामग्रीको अध्ययन र सर्भेले देखाएको रिपोर्ट अनुसार यस वर्ष भैरहेको उत्खननमा प्राचीन समयको धार्मिक कुण्ड र वरपर विशाल दरबार जस्तो देखिने संरचना फेला परेको पुरातत्त्वविद् भास्कर ज्ञवालीले बताए ।
अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौं शताब्दीका भएको पुष्टि भएको छ । प्राचीन संरचना भेटिएको स्थलमा अहिले बस्ती र स्थानीयले खेतीपाती गर्दै आएका छन् । यसलाई अधिग्रहण गरेर थप उत्खनन र यसको संरक्षणमा लागिपर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।
पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली गाउँका रूपमा पनि दाबी गरिँदै आएको छ । तर, राज्यले प्राप्त योजना र बजेट विनियोजन गर्न नसक्दा जग्गा अधिग्रहण र थप उत्खनन तथा अनुसन्धान कार्य द्रूत ढंगले अघि बढ्न नसकेको सरोकारवालाको गुनासो छ ।