मागभन्दा न्यून उत्तीर्ण भएपछि शनिबार र आइतबार पुनः आवेदन माग
What you should know
पाल्पा — पाल्पामा ५ सय ३९ निर्वाचन प्रहरी अपुग भएको छ। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ३५ पाल्पाले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेका थिए।
जनपद प्रहरीतर्फ १ हजार ४ सय १८ जना माग गरिएकामा शुक्रबार राखिएको लिखित परीक्षामा १ हजार ९ जना मात्र सहभागी भए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुका अनुसार जनपदतर्फ ४ सय ९ निर्वाचन प्रहरी अझै अपुग रहेको छ। सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३५ तर्फ १ सय ७९ जना माग गरेकामा ४९ जना मात्र लिखित परीक्षामा सहभागी भएका थिए। सशस्त्र प्रहरी बलका अनुसार १ सय ३० जना अझै अपुग रहेको छ।
निर्वाचन प्रहरीमा भर्ना हुने युवाको संख्या कम भएपछि आवेदनका लागि दुई दिन म्याद थप गरिएको छ । शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म न. ३५ पाल्पामा आवदेन दिन सकिने सूचनामा उल्लेख छ।
प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले पाल्पाका लागि कुल १ हजार ५९७ जनाका लागि आवेदन माग गरिएको थियो । जसमा १ हजार १९४ जनाले मात्र आवेदन दिएका थिए । सशस्त्र प्रहरीले १९७ जनाका लागि आवेदन माग गरेकामा ५९ जनाले मात्र आवेदन दिएको उनले बताए। प्रहरीले एक हजार ४१८ जनाका लागि आवेदन माग गरे पनि एक हजार १०८ जनाले मात्र निवेदन दिएका थिए ।
लिखित परीक्षा सकिएपछि निर्वाचन प्रहरीका लागि पुनः दुई दिन (शनिबार र आइतबार) को समय दिएर दरखास्त आहृवान गरिएको सूचना अधिकारी चौधरीले बताए । दरखास्त दिनेमा महिलाको संख्या तुलनात्मक रूपमा कम देखिएको छ।
१८ देखि ५४ वर्ष उमेरसम्मको उमेर हद राख्दासमेत दरखास्त न्यून परेको उनले बताए। ‘यसअघिका निर्वाचनमा माग भन्दा अधिक आएर छनोटमा निकै सकस हुन्थ्यो,’ उनले भने, ‘यसपटक किन आएनन् हामी अचम्ममा परेका छौं ।’ ४० दिनका लागि भर्ना हुन लागेका उनीहरूले प्रहरी जवानको बराबर तलब र रासन सुविधा पाउँछन् ।
