पालिकास्तरीय नीतिगत पहलबारे जानकारी दिन शुक्रबार तिलोत्तमामा पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरियो, जसमा स्थानीय तहले गरेका क्रियाकलापबारे जानकारी गराइएको थियो ।
What you should know
रूपन्देही — महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्न रूपन्देहीका चार स्थानीय तहले ऐन तथा नीति निर्माण थालेका छन् । रूपन्देहीका तिलोत्तमा नगरपालिका, कञ्चन, ओमसतिया र शुद्धोधन गाउँपालिकाले ऐन, नीति तथा कार्यविधिमार्फत महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण थालेका हुन् ।
पछिल्लो समय रूपन्देहीका तिलोत्तमा, कञ्चन, शुद्धोधन र ओमसतिया गरी चार स्थानीय तहमा महिला तथा बालिकाविरुद्ध हुने हिंसासम्बन्धी ऐनका लागि निरन्तर नीतिगत छलफल भइरहेको छ । ऐन बनाउन र ऐनको कार्यान्वयनमा सरोकारवालालाई सचेत बनाउन महिला कानुन तथा विकास मञ्च र सिर्जनशील संस्था नेपालले प्राविधिक सहयोग गरेका छन् ।
महिला तथा बालिकाविरुद्ध हुने हिंसा संवोधनका लागि पालिकास्तरीय नीतिगत पहलबारे जानकारी दिन शुक्रबार तिलोत्तमामा पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरियो, जसमा स्थानीय तहले गरेका क्रियाकलापबारे जानकारी गराइएको थियो ।
लैंगिक हिंसा ऐन तथा नीति निर्माण र त्यसको कार्यान्वयनमा महिला कानुन तथा विकास मञ्च र सिर्जनशील संस्था नेपालले प्राविधिक सहयोग गरेका छन् ।
महिला कानुन तथा विकास मञ्चका निर्देशक सविन श्रेष्ठले महिला र बालिका हिंसा रोक्न र उनीहरूको संरक्षण एवं सुरक्षा गर्न नीतिगत पहल थालेको बताए । ‘समय फेरिँदै जाँदा लैंगिक हिंसाका स्वरूप फेरिएका छन् । स्थानीय तहमा देखिएका लैंगिक हिंसा र बालिका हिंसाका समस्या समाधान, पीडितको पहुँच, न्यायिक प्रक्रियामा देखिएका कठिनाइ र तत्काल सहजीकरणका लागि स्थानीय तहमा लैंगिक हिंसाविरुद्धका ऐन तथा नीति आवश्यक छ,’ निर्देशक श्रेष्ठले भने, ‘त्यसले मात्रै उनीहरूको क्षेत्रमा गरेको लगानीको प्रतिफल देखाउन सकिन्छ ।’
महिला तथा बालिकाविरुद्ध हुने हिंसाले महिला र बालिकालाई मात्र समस्यामा पार्दैन, समाजलाई नै पछाडि धकेल्छ । ‘यसर्थ स्थानीय तहले महिला र बालबालिकाको सुरक्षाका लागि ऐन नीति विकास र संरक्षण योजना बनाउन जरुरी छ,’ अधिवक्तासमेत रहेका श्रेष्ठले भने ।
लैंगिकमैत्री तिलोत्तमा नगरपालिका बनाउने अभियान थालेको तिलोत्तमा नगरपालिकाले लैंगिक हिंसा निवारण कोष संचालन गरेको छ । महिला तथा बालबालिका शाखा प्रमुख संझना भण्डारीका अनुसार सिर्जनशील संस्थाको सहकार्यमा सेफहाउस संचालन गरेको छ । महिला हिंसाविरुद्ध पुरुष नेटवर्क बनाएको छ । लैंगिकमैत्री तिलोत्तमा बनाउन १ सय १६ सूचकमा काम गरिरहेको छ ।
कञ्चन गाउँपालिकाले लैंगिक हिंसा पुनर्स्थापना तथा कोष संचालन ऐन बनाएको छ । यससँगै महिला र बालिका सुरक्षा र हिंसा न्यूनीकरणका अभियान समेत चलाएको पालिका अध्यक्ष नवराज ढकालले बताए ।
लैंगिक हिंसा न्यूनीकरणका लागि वडातहका कार्यक्रममा केन्द्रित शुद्धोदन गाउँपालिकाले मानव बेचबिखन विरुद्ध समिति निर्माण गरेको छ । बालमैत्री गाउँपालिका बनाउन बालबालिकाको क्षमता विकासमा पनि काम गरिरहेको अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।
लैंगिक हिंसा न्यूनीकरणका लागि ऐन आवश्यक छ । तर,स्थानीय तहमा ऐन–कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले ऐन कार्यान्वयनमा पालिका प्रमुखहरू संवेदनशील भए महिला र बालिकाविरुद्ध हुने कानुन कार्यान्वयनमा लैजान सहज हुने बताए ।
सृजनशील संस्था नेपालका कार्यक्रम तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्थीले स्थानीय तहले बनाएका ऐन नीतिको कार्यान्वयन, लक्षित वर्गलाई जानकारी दिन अभिमुखीकरण, छलफल, होल्डिड. बोर्ड राख्ने लगायत काम गरेको बताइन् ।
