निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई तिलहरी, केवलकार, बकुल्लो, चेसगोटी, भँगेरा, सेलरोटी र हटकेससम्मका चुनाव चिह्न प्रदान गरिएको हो ।
What you should know
गुल्मी — जिल्लाका दुई निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी परेको छ । जसमा गुल्मी-१ मा २१ र २ मा २२ जनाको उम्मेदवारी कायम छ ।
जसमध्ये क्षेत्र नम्बर १ मा १० दल र ११ स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा १० दल र १२ स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई तिलहरी, केवलकार, बकुल्लो, चेसगोटी, भँगेरा, सेलरोटी र हटकेससम्मका चुनाव चिह्न प्रदान गरिएको हो ।
क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार स्वतन्त्र उम्मेदवारलाई छुट्टाछुट्टै विभिन्न प्रकारका चुनाव चिह्न प्रदान गरिएको छ । जसअनुसार कृष्णबहादुर सुनारलाई जुवा र घनश्याम गौतमलाई चेसगोटी, चेतनबहादुर बस्नेतलाई केवलकार, टोपबहादुर थापालाई मुढा, प्रेमप्रसाद श्रेष्ठलाई प्रेसर कुकुर, प्रेमलाल भण्डारीलाई स्प्रे, मेघबहादुर गाहालाई पंखा, यमबहादुर श्रेष्ठलाई जिप, लक्ष्मण भण्डारीलाई तिलहरी, विमल ज्ञवालीलाई बकुल्लो र सूर्यबहादुर सोनी सुनारलाई फिरफिरे चुनाव चिह्न दिइएको छ ।
त्यस्तै यस क्षेत्रमा दलीय रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजितकुमार श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट नवलपरासीका खडकबहादुर गुरुङ, नेपाली कांग्रेसबाट चन्द्रकान्त भण्डारी, नेकपा एमालेबाट प्रदीपकुमार ज्ञवाली, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरका मैयालक्ष्मी त्यात, नेसनल रिपब्लिक नेपालबाट बुटवलका लोकबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल, आम जनता पार्टीबाट सिखा रेश्मि र नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल रहेका छन् ।
क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार स्वतन्त्र उम्मेदवारलाई छुट्टाछुट्टै विभिन्न प्रकारका चुनाव चिह्न प्रदान गरिएको छ । जसअनुसार कुमारी हरिकला श्रीसलाई मुढा, नरेन्द्रप्रसाद रिजाललाई, क्यामेरा, फर्सुराम कँडेललाई भँगेरा, भागीरथा थापालाई मानापाथी, भूमिराज सापकोटालाई नरिवल, सुरेन्द्र पाण्डेलाई सेलरोटी, सरस्वती लम्साललाई कप र प्लेट, खुबीराम आचार्यलाई हटकेस लोकबहादुर पुनलाई तिलहरी, रामप्रसाद पोखेरेललाई हेल्मेट, महेश्वर घिमिरेलाई कैँची र मालता घिमिरेलाई पानीको जार चुनाव चिह्न प्रदान गरिएको छ ।
त्यस्तै यस क्षेत्रमा दलीय रूपमा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, नेकपा एमालेबाट गोकर्णराज विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंका गोविन्द पन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेसनल रिपब्लिक नेपालबाट पदम थापा मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट दाङका बेदबहादुर थापा, नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट काठमाडौंका लालबहादुर थापा क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत र नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट सन्ते नेपाली रहेका छन् ।
दुवै निर्वाचन क्षेत्रमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । अधिकांश स्वतन्त्र उम्मेदवार पार्टीकै डमी उम्मेदवार छन् । केही स्वतन्त्र उम्मेदवार भने चुनावी मैदानमा होमिएका छन् । मुख्य गरी गुल्मीमा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण हुन थालेको छ ।
