अर्घाखाँचीमा एउटै पालिकाका चार जना सांसदका उम्मेदवार

पार्टी संगठन, व्यक्तिगत प्रभाव र कुशल रणनीतिका हिसाबले एकै पालिका मालारानीका एमालेका पीताम्बर भुसाल, नेकपाका रामबहादुर चौहान र कांग्रेसका विष्णुप्रसाद खनालबीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

माघ ८, २०८२

वीरेन्द्र केसी

Four MP candidates from the same municipality in Arghakhanchi

What you should know

अर्घाखाँची — जतिबेला एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदै थियो, रामबहादुर चौहान एमाले जिल्ला सचिव र पीताम्बर भुसाल सदस्य थिए । २०६९ सालमा एमाले सातौं जिल्ला अधिवेशनबाट चौहान सचिवमा निर्वाचित भए । भुसाल चौहानसँग सचिवमा पराजित भए ।

दुई पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी भंग भयो । उनीहरू सदस्य मात्रै भए । त्यसपछि नेकपा विभाजनको केही समयपछि माधव नेपालले नयाँ पार्टी बनाए । चौहानले जिल्लामा पार्टीभित्र विद्रोह गरेर समानान्तर पार्टीको नेतृत्व गरे । पार्टी फुटेपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने । फेरि पुष्पकमल दाहाल नेतृत्वको माओवादी र नेपाल नेतृत्वको नेकपा एसबीच एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको चौहान अहिले केन्द्रीय सदस्य छन् । 

चौहान र भुसाल एउटै मालारानी गाउँपालिका–५ बाँगी गाउँका समकक्षी नेता हुन् । एमालेमा रहँदा चौहान र भुसाल आन्तरिक मेलमिलापबाट एकअर्काको सहयोगी एवं प्रतिस्पर्धी भए । 

भुसाल अहिले एमाले जिल्ला अध्यक्ष छन् । संयोग भनौं, उनीहरू दुवै जना २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छन् । ५६ वर्षीय चौहान र ५४ वर्षीय भुसाल दुवै स्नातक उत्तीर्ण हुन् । बलियो पार्टी संगठनको उम्मेदवार भुसाल छन् भने व्यक्तिगत मत तान्न सक्ने प्रभावशाली नेताका रूपमा चौहान चुनावी मैदानमा छन् । दुवै नयाँ अनुहार हुन् ।

भुसाल २०५४ सालमा २५ वर्षको उमेरमा बाँगी गाविस अध्यक्ष निर्वाचित भएका थिए । २८ वर्षपछि पहिलो पटक संसदीय चुनावमा भिड्न लागेका छन् । विद्यार्थी राजनीतिदेखि, गाउँ, इलाका, क्षेत्र, जिल्ला सदस्य हुँदै भुसाल एमाले जिल्ला अध्यक्षमा अहिले दोस्रो कार्यकाल निर्वाह गरिरहेका छन् । एमाले वृत्तमा भुसाल कुशल संगठकका रूपमा चिनिन्छन् । 

चौहान पहिलो पटक संसदीय चुनाव लड्दैछन् । अंग्रेजी विषयमा स्नातक उर्त्तीण चौहान स्कुले विद्यार्थी जीवनबाटै एमाले निकट अखिलको सदस्य भएका थिए । २०४९ सालमा सन्धिखर्कस्थित पाणिनि बहुमुखी क्याम्पस स्ववियु सभापति, ०५० मा अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै ०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य, ०५६ मा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इन्चार्ज भए । उनी नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको लामो समय अध्यक्ष भएर काम गरेका थिए । उनी नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष पनि भए । 

बाँगी गाउँकै अर्का ४९ वर्षीय रवि शाह स्वतन्त्र उम्मेदवार छन् । जिल्लाबाहिर व्यवसाय गर्दै आएका उनी जिल्ला फर्केर अहिले संघीय सांसदका लागि चुनावी मैदानमा उत्रिएका हुन् । 

मालारानी गाउँपालिका–४ खनबाट कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) पनि सांसदका लागि प्रतिस्पर्धा गर्दै छन् । स्नातक तह उत्तीर्ण उनी ०५४ सालमा शिक्षकको स्थायी जागिरबाट राजीनामा दिएर खन गाविस अध्यक्षमा उम्मेदवार बनेका थिए । त्यसपछि ०७४ को प्रदेशसभा १ को चुनावमा पनि उम्मेदवार बने । दुवै निर्वाचनमा सफलता हात नपारेका खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक भिड्दैछन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका खनाल कांग्रेस पार्टीको गाउँ, इलाका, जिल्ला सदस्य, सचिव, उपसभापति हुँदै सभापति भए । अहिले प्रदेश सहमहामन्त्री छन् । राजनीतिसँगै उनले खन गाविस अध्यक्षमा पराजित भएपछि सन्धिखर्कमा केही समय भू–संदेश साप्ताहिक पत्रिकाको प्रकाशक–सम्पादक भएर पत्रकारिता गरे । मानव अधिकार तथा शान्ति समाजको जिल्ला सभापति भए । पाणिनि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष लगायतका सामाजिक संघसंस्थामा काम गरेको अनुभव उनीसँग छ । 

कांग्रेस जिल्ला पार्टी संगठनमा मजबुत खनाल कुटिल राजनीतिज्ञ तथा व्यक्तिगत मत तान्न सक्ने क्षमता भएका कुशल लिडर भएको कांग्रेस वृत्तमा चर्चा हुने गर्छ । पार्टी संगठन, व्यक्तिगत प्रभाव र कुशल रणनीतिका हिसाबले एकै पालिका भुसाल, चौहान र खनालबीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully