राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न ताजा जनादेशको खाँचो : पूर्वमन्त्री पुन

गत भदौ २३ र २४ का घटनालाई स्मरण गर्दै उनले युवा पुस्तामा राजनीतिक ज्ञानको अभाव र सामाजिक व्यवहारको खाँचो भएको टिप्पणी गरे।

माघ ७, २०८२

काशीराम डाँगी

Fresh mandate needed to protect nationality and independence: Former Minister Pun

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्व मन्त्री वर्षमान पुनले सुशासन, राष्ट्रियता र स्वाधीनताको संरक्षणका लागि ताजा जनादेशको खाँचो भएकोले फागुन २१ को निर्वाचन तय भएको बताएका छन्।

लिवाङमा बुधबार आयोजित पत्रकार भेटघाटमा पुनले विश्वमा साना मुलुक हराउने जोखिममा रहेको समेत बताए।

उनले भ्रष्टाचार, कुशासन, अपारदर्शी गतिविधि र वैदेशिक हस्तक्षेप रोक्न ताजा जनादेशबाट आएको संसदीय शक्ति उपयुक्त हुने तर्क गरे। ‘राज्य सञ्चालनका सीमा मिचिए, भ्रष्टाचार र अनियमितताले सीमा नाघ्यो, सुशासन र दललाई लोकतान्त्रीकरण गर्न ताजा जनादेशको खाँचो छ। निर्वाचनबाट प्राप्त ताजा जनादेशले देशले नयाँ अवस्था पाउनेछ,’ पुनले भने। साथै, विश्वमा नयाँ तरिकाले देखा परेको विश्व व्यवस्थाको प्रभावले हालै नेपालमा राजनीतिक उथलपुथल आएको उनले बताए। त्यसैको कारण २०८४ मा हुने निर्वाचन २०८२ मा हुन थालेको उनको धारणा छ। उनले १८ घटकबाट बनेको नयाँ पार्टीको मुख्य उद्देश्य राष्ट्र र स्वाधीनताको रक्षा हुनु भएको बताए।

गत भदौ २३ र २४ का घटनालाई स्मरण गर्दै उनले युवा पुस्तामा राजनीतिक ज्ञानको अभाव र सामाजिक व्यवहारको खाँचो भएको टिप्पणी गरे। ‘जताततै निराशाजनक गतिविधिको प्रचारप्रसार मात्रै भयो। अब सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिको आवश्यकता छ। सुशासनको मागअनुसार काम हुनुपर्छ,’ उनले भने ।

‘प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि ध्वंस भयो। नेपालीको इतिहास, पूर्वाधार र अभिलेख जलाउने ढंगले आतंक भयो। भूराजनीतिक बाछिटा पनि भएको हो,’ पूर्व मन्त्री समेत रहेका पुनले भने। उनले ती घटनाबाट पाठ सिकेर आफ्नो घर र मुलुक बलियो बनाउने बेला आएको बताए। अर्कोतिर सबै पार्टीलाई लोकतान्त्रीकरण गर्ने बेला आएको उनको भनाइ छ। त्यसका लागि युवालाई लोकतान्त्रिक एवं राजनीतिक प्रशिक्षणको खाँचो भएको र सकारात्मक कुराको विस्तारतर्फ प्रशिक्षण गर्नुपर्ने बेला आएको उनको धारणा छ।

रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका पुनले जिल्लाको विकासमा अझै ध्यान दिन आफूले निर्वाचनमा भाग लिएको प्रतिबद्धता गरे। आफ्ना प्रतिस्पर्धीसँग मित्रवत् एवं शान्तिपूर्ण रूपमा निर्वाचनमा भाग लिने उनले बताए। रोल्पाबाट दोहोरिए पनि जनताको मागअनुसार आफू उम्मेदवार हुन हौसला मिलेको उनले बताए। पहिले रोल्पाबाट निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका प्रतिस्पर्धी नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट भएको उनले खुलासा गरे। ‘विप्लवसँग भेट भयो। मैले त निर्वाचनमा जाऔँ, प्रतिस्पर्धा गरौँ भनेको। तर आउनुभएन। त्यो उहाँको पार्टीको निर्णय होला। मलाई पनि हाम्रो पार्टीले उम्मेदवार बनाएको हो,’ उनले भने।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट उनी यसअघि दुई पटक निर्वाचित भइसकेका छन्। २०७४ र २०७९ मा उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर–१ बाट विजयी भएका थिए भने २०७० मा मोरङ–९ बाट पराजित भएका थिए।

यो पटक पुनको निर्वाचन दौड पाँचौँ हो। उनी अर्थ, सञ्चार र ऊर्जा मन्त्री भइसकेका छन्। उनी तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला लडाकु कमाण्डर समेत थिए।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully