एमाले महासचिव शंकर पोख्रेल उम्मेदवारी दर्ता गर्न जाँदै

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पुनः क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न लागेका हुन्।

माघ ६, २०८२

दुर्गालाल केसी

UML General Secretary Shankar Pokhrel going to register his candidacy

दाङ — एमाले महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको उम्मेदवारी दर्ता गर्न जाँदै छन् । उनको दर्ता समय दिउँसो १ बजे तोकिएको भए पनि उनी अझै घोराहीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छैनन् ।

घोराहीस्थित निर्वाचन आयोगको कार्यालयमा दाङ क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दर्ता गर्नेछन्। सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गरी निर्वाचन कार्यालय जाने तयारी भइरहेको एमाले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले बताए।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पुनः क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७९ को निर्वाचनमा उनी यही क्षेत्रमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १ सय ९३ मतान्तरले पराजित भएका थिए। माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले २६ हजार ८ सय ८० मत प्राप्त गरी विजयी भएकी थिइन् भने पोख्रेलले २६ हजार ६ सय ८७ मत पाएका थिए। पोख्रेल २०७४ मा दाङ २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए।

यस क्षेत्रमा कांग्रेसबाट किरणकिशोर घिमिरेले उम्मेदवारी दर्ता गर्दै छन्। उनी पहिलो पटक उम्मेदवार बनेका हुन्।

नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले उम्मेदवारी दर्ता गर्दै छन्। आचार्य २०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भई पराजित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवारी दर्ता गर्दै छन्। आचार्य नयाँ उम्मेदवार हुन्। दाङ निवासी उनी समानुपातिक सूचीबाट नाम फिर्ता लिई प्रत्यक्ष निर्वाचन लड्न थालेका हुन्। आचार्य रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully