उमेर नपुगेपछि जनमत पार्टीले उम्मेदवार परिवर्तन गरेको छ । क्षेत्र नं २ बाट पार्टीले उम्मेदवार बनाएको श्यामप्रकाश साहको उमेर २५ वर्ष पुग्न दुई महिना बाँकी भएपछि उम्मेदवार परिवर्तन गरेको हो ।
कपिलवस्तु — जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा ९८ जनाले मनोनय दर्ता गरेका छन् । क्षेत्र नं १ मा दलबाट २० र १४ जना स्वतन्त्र गरी ३४ जनाले मनोनय दर्ता गरेका छन् ।
क्षेत्र नं २ मा दलबाट १७ र ११ जना स्वतन्त्र गरी २८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं ३ मा दलका १३ र २३ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं ३ मा राति ९ बजेसम्म मनोनयन दर्ता भएको थियो । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन् ।
हेभिवेटहरू दल परिवर्तन गर्दै मनोनयन
एमालेका पूर्व केन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले नेपाली कम्युनिस्ट पार्टीबाट क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका छन् । त्यस्तै कांग्रेसबाट पूर्व लुम्बिनी प्रदेश सभा सदस्य रहेको वीरेन्द्रकुमार कानोडियाले एमालेबाट क्षेत्र नं. ३ मा मनोनयन दर्ता गराएका छन् । त्यस्तै कांग्रेसका नेता विक्रमसिंह थापाले क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन् । त्यस्तै कांग्रेसका युवा नेता आशिष शर्माले पार्टीबाट टिकट नपाएपछि क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
उमेर नपुगेपछि उम्मेदवार परिवर्तन
उमेर नपुगेपछि जनमत पार्टीले उम्मेदवार परिवर्तन गरेको छ । क्षेत्र नं २ बाट पार्टीले उम्मेदवार बनाएको श्यामप्रकाश साहको उमेर २५ वर्ष पुग्न दुई महिना बाँकी भएपछि उम्मेदवार परिवर्तन गरेको हो । दलबलसहित श्यामप्रकाश मुख्य निर्वाचन कार्यालय पुगेका थिए । त्यहाँ उनको उमेर नपुगेर उम्मेदवार हुन नपाएपछि मायादेवी गाउँपालिका–७ का मुरली कुर्मीले मनोनयन दर्ता गरेका छन् ।
