मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा लैंगिक सहभागिता भने निराशाजनक छ । ६२ जना उम्मेदवारमा महिलाको संख्या ५ मात्रै रहेको छ ।
दाङ — प्रतिनिधिसभा सदस्यका लागि दाङमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा क्षेत्र नं १ मा १४, २ मा २३ र ३ मा २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसपटक अधिकांश नयाँ उम्मेदवार छन् । ४० वर्षमुनिका युवा उम्मेदवार १९ जना छन् । यो कूल उम्मेदवारको ३०.६ प्रतिशत हो । जसमा क्षेत्र नं १ मा तीन, २ मा सात र ३ मा नौ जना छन् । २६ देखि ६९ वर्षसम्मका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
यसपटक नयाँ उम्मेदवारको संख्या ठूलो छ । ६२ जनामा ४९ जना नयाँ उम्मेदवार छन् । यो कूल उम्मेदवार संख्याको ७९ प्रतिशत हो । उम्मेदवारमध्ये क्षेत्र नं. १ मा ६ पुराना र ८ नयाँ छन् । क्षेत्र नं २ मा २ पुराना र २१ नयाँ छन् । क्षेत्र नं ३ मा ५ पुराना र २० नयाँ उम्मेदवार छन् ।
महिला उम्मेदवार ५ जना मात्रै
मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा लैंगिक सहभागिता भने निराशाजनक छ । ६२ जना उम्मेदवारमा महिलाको संख्या ५ मात्रै रहेको छ । यो कूल उम्मेदवारको ८.६ प्रतिशत हो । क्षेत्र नं. २ मा २ र ३ मा ३ महिला उम्मेदवार छन् । क्षेत्र नं. १ मा एक जना पनि महिला उम्मेदवार नरहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।
क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएकी विष्णुकुमारी भुसाल र कल्पना लामा छन् । क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाकी कमला जीसी, जनता समाजवादी पार्टीकी शोभा डाँगी र आम जनता पार्टीकी पाण्डी नेपाली रहेका छन् ।
